नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ। केन्द्रीय बैंकले सार्वजानिक गरेको एक सर्वेक्षण प्रतिवेदनले आधा भन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखाएको हो। औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याँकले देखाउछ। प्रतिवेदन अनुसार कुल बैदेशिक लगानीको ४३.९ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।
२०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । सोहि अनुसार विभागले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजानिक गरेको हो।
आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६÷७७’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ। प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको केन्दीय बैंकले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-