काठमाडौँ | यूनाइटेड अरब इमिरेट्स (यूएई) ले विदेशी कामदार तथा उच्चदक्ष जनशक्तिको आवश्यकता बढेपछि विदेशीलाई दिने भिसा प्रक्रिया सरल र सहज पारेको छ । यूएईमा शुरू गर्न लागिएको ५० वटा नयाँ योजना (प्रोजेक्ट मा काम गर्ने विदेशी जनशक्तिको भिसासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो । उस्ले तोकिएका प्राजेक्टमा काम गर्न जानेहरूलाई प्रदान गर्ने भिसालाई ‘गोल्डेन भिसावाह’को श्रेणीमा राखेको छ । उनीहरूले स्थानीय स्पोन्सर बिना नै बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने छन् ।
गोल्डेन भिसाको वर्गमा वैज्ञानिक, सीईओ, इन्जिनियर, म्यानेजर र प्राविधिक जनशक्ति रहेका छन् । नयाँ नियमले यूएईमा कारणबस जागिर गुमेको खण्डमा वा भिसाको म्याद सकिएको अवस्थामा तीन महिनासम्म बस्न सकिने भएको छ । पहिले त्यस्तालाई एक महिना मात्र यूएईमा बस्न दिने व्यवस्था थियोे | यसअघि व्यावसायिक यात्राका लागि दिइँदै आएको तीन महिनाको अवधिलाई लम्ब्याएर ६ महिना बनाएको छ भने उच्च आम्दानी हुने आप्रवासी कामदारले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पाउने स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका दुई नेपालीको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्को खस्दा त्यसमा पुरिएर दुई जना नेपाली कामदारको मृत्यु भएको हो । ढिस्काले पुरिएका अर्का एक नेपाली कामदार घाइते भएका छन् ।
झापा गोलधाप–१, यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशीको मृत्यु भएको छ । घटनामा घाइते भएका रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइतेको उपचार भइरहेको फर्वानिया अस्पतालमा पुगेर घटनाको जनाकारी लिएको दूतावासले जनाएको छ ।
दूतवासले विज्ञप्ति जारी गर्दै नेपालीको मृत्युले स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ । कुवेतको फायर फाइटर ब्रिगेडले ढिस्को खस्दा शुरूमा तीनजना नै पुरिएको तर एक जनाको जिवितै उद्धार गरिएको बताइएको छ । चार घण्टाको प्रयासपछि उद्धार कार्य सकिएको बताइएको छ । स्थानीय प्रहरीले कार्यस्थलमा सुरक्षाको पर्याप्त व्यवस्था गरिएको वा नगरिएको बारे छानविन शुरू गरेको बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-