गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आसन्न चुनावका लागि आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । आफु निर्वाचित भएमा एनआरएनएको सदस्य संख्या पाँच लाख पु¥याउने महत्वाकांक्षी घोषणा उनले गरेका छन् । अहिले एनआरएनएको सदस्यता संख्या १ लाखभन्दा माथि रहेको छ ।
विभिन्न मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरूलाई क्रियाशील गराउने योजना उनले अघि सारेका छन् । यसरी संघलाई सक्रिय बनाउँदा सदस्यता संख्या पाँच गुणाले बढ्ने उनले बताएका छन् ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि उनको योजना छ । अहिले ८४ देशमा एनआरएनए गठन भइसकेको छ, तर २० भन्दा धेरै एनसीसी निश्कृय छन् ।
उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताएका छन् । आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने घोषणा समेत गरेका छन् । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र सातै प्रदेशमा ती केन्द्रहरु बिस्तार गर्ने घोषणा उनले गरेका छन् ।
गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरिने कार्ययोजना रहेको आचार्यको घोषणापत्रमा उल्लेख छ । आचार्यले विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरू सञ्चालन गरिने पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-