वैदेशिक रोजगार विभागले इजरायलको भाषा परीक्षा पूर्व निर्धारित मिति र समयमा हुने बताएको छ । परीक्षा भदौ २८ गते हुँदैछ । परीक्षा दिनको ठिक १ बजे सञ्चालन हुने विभागले जनाएको छ । इजरायलमा स्वास्थ्य सहायक पठाउने नेपाल सरकारको निर्णय र वैदेशिक रोजगार विभागको परीक्षा सञ्चालन गर्ने तयारी बारेमा सर्वोच्च अदालतमा रिट परी शुक्रबार न्यायाधीश डा। आनन्द मोहन भट्टराईको एकल इजलासमा छलफल भएको थियोे ।
निवेदकका कानून व्यवसायी अधिवक्ता सुरेश कुमार कार्कीले सर्वोच्चको आदेशले विभागले सञ्चालन गर्ने परीक्षा रोकिने दाबी गरेका थिए । तर विभाग स्रोतले सर्वोच्च अदालतले सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्ने आदेश दिएको जानकारी आएको भन्दै पूर्ववत् रूपमा परीक्षाको कार्यक्रम अघि बढेको र आवेदकहरूले परीक्षाका बारेमा भ्रम वा द्वविधामा पर्न नहुने बतायो ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरिएको सन्दर्भमा हेर्दा निवेदनमा उठाइएका अन्य विषयको हकमा अन्तिम निर्णय हुँदा विचार गरिने हुँदा बोली रहनु परेन । कामदार छनोटका लागि सञ्चालन हुन गइरहेको परीक्षाको हकम कोभिड–१९ महामारीलाई दृष्टिगत गरी सुरक्षित तवरबाट हुने कुराको सुनिश्चित गरी परीक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सर्वोच्च अदालत नियमावली अनुसार अन्तरिम आदेश जारी गरिएको’ भन्ने उल्लेख छ ।
सर्लाही नगरपालिका मलंगवा वडा नं। ५ हाल परिवर्तित मलंगवा नगरपालिका वडा नं। ३ बस्ने नुरी मिकरानीले उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ भनी बुधबार रिट दायर गरेका थिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।
परीक्षामा अंग्रेजी भाषाको ८० अंकको लिखित परीक्षा र २० अंकको अन्तर्वार्ता हुने विभागले जनाएको छ । परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । सरकारले इजरायल रोजगारीका लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो ।
त्यसक्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार भन्दा केही बढीको आवेदन स्वीकृत भएको छ । तर तोकिएको योग्यताका मध्ये सिएमए तालिमको अवधि १८ महिनाको नभएको पाइएको भन्दै धेरैलाई अयोग्य बनाएर उनीहरूलाई परीक्षामा सहभागी हुन बञ्चित गरिएको गुनासो बढेको छ ।
विभागले परीक्षाको शुद्धता कायम गर्न लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने बताएको छ । तर कतिपयले बजारमा चलखेलका हल्ला धेरै आएको भन्दै निश्पक्षतामा सचेत हुनुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-