जुम्ला – जुम्ला चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत अहिले आफ्नो बारीको स्याउ लिएर बिक्री गर्न कर्णाली प्रदेश सरकारको राजधानी सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै आफू ५० क्विन्टल स्याउ लिएर बिक्री गर्न सुर्खेत गएको जानकारी दिनुभयो । जुम्ला तातोपानी गाउँपालिका २ डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो । उहाँले गएको वर्षभन्दा यस वर्ष कालो तुषारोका कारण स्याउ कम फलेको बताउनुभयो ।
कठायत र डाँगीजस्तै धेरै स्याउ किसान अहिले स्याउ लिएर बजार गइरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो हप्तादेखि टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाण्डौ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीहरूले जनाएका छन् ।
किसानहरू स्याउ टिप्न अन्तिम–अन्तिम अवस्थामा रहेका र अहिले उनीहरू निर्यात र भण्डारणमा व्यस्त रहेका जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्व जुम्लाको स्याउ गइरहेको छ । धेरैजसो स्याउ अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत, बाँकेको नेपालगञ्ज गइरहेको व्यापारीहरू बताउँछन् ।
सुर्खेतमा रहेको एक स्याउ बजारका प्रबन्धक प्रकाश कुमार तिमिल्सेनाले ५० गाडी अर्थात् झन्डै १० टन स्याउ जुम्लाको आएको बताउनुभयो । एकै पटक जुम्लाको स्याउ आउँदा बिक्री गर्न हम्मे–हम्मे भएको उहाँले बताउनुभयो । १३ वर्षदेखि स्याउ व्यापार गर्दै आउनुभएका तिमिल्सेनाले त्यहाँको बजार तीन महिना जुम्लाको स्याउले ढाक्ने र बाँकी महिना बाहिरको स्याउले धान्ने गरेको सुनाउनुभयो ।
कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ६ हजार एक सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा अहिले बढ्ने अनुमान गरिएको छ । लेकाली भेगबाहेक अन्य ठाउँको स्याउ टिपी सकिएको र कोरोनाको प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ । स्याउ निर्यातका लागि किसानले पालिकाबाट सिफारिस लिने गरेका छन् । स्थानीय कृषि शाखा र वडा पालिकाको समन्वयमा हुने सिफारिसले किसानलाई सजिलो हुँदै गएको छ ।
अहिले बजारमा परिपक्व स्याउ जान थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख गङ्गा पोख्रेलका अनुसार जुम्लाका केही किसानले स्याउ काठमाण्डौ पुर्याएका छन् । स्याउ जति राख्यो त्यति परिपक्व हुने र रस भरिने भएकाले पछिल्लो स्याउ परिपक्व भएको पोख्रेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-