व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु शिक्षाको पहिलो काम हो । शिक्षाले कामलाई ठूलो सानो भन्दैन । बरु शिक्षाको मुल मन्त्र बुझेको मान्छेले कामलाई नै प्रधान ठान्छ । बिडम्बना, अहिले पनि कृषिप्रति कतिपय मान्छेहरु सकारात्मक देखिँदैनन् । तर, शिक्षक मेघराज न्यौपानेको सोच अलिक फरक छ । उनी कृषि पेसालाई माया मात्रै गर्दैनन् आत्मसात् नै गरिरहेका छन् । चन्द्रकोट ७ रुपाकोट गुल्मी, निवासी मेघराज न्यौपाने पेशाले शिक्षक भएता पनि अहिले उनी किसानको परिचयले समेत परिचित हुँदै छन् । मार्केटिङमा मास्टर गरिरहेका न्यौपानेले स्कुलमा गणित, अर्थशास्त्र र व्यावसायिक अध्ययन विषय पढाउँदै आइरहेका छन् । सँगसँगै उनले कृषि कर्मलाई पनि निरन्तरता दिइरहेका छन् ।
जब स्कुल छुट्टी हुन्छ, वा फुर्सद हुन्छ मेघराज पुगिहाल्छन् आफ्नै तरकारीबारीमा । उनी भन्छन् ,” अहिले मान्छेहरु कुरा बढी काम कम गर्ने भएका छन् ।” उनलाई कुरा भन्दा पनि काम गरेर देखाउन मन लाग्छ । उनलाई तरकारी खेतीमा चासो त पहिले देखि नै थियो, तर उचित बजार ब्यबस्थापनको अभावले गर्दा उनको सोचले मूर्त रुप पाउन सकेको थिएन ।
जब गाउँमा पैँचो पसल प्रा.लि.आयो उनलाई त भात खान लाग्दा भागमा घिउ पोखिए झै भयो । उनी भन्छन् , “पैँचो पसल प्रा.लि नआएको भए अहिलेको अबस्था हुने थिएन होला ।” पैँचो पसलले तरकारी खरिद मात्रै गरेन झन उल्टै तरकारीमा लाग्ने रोगब्याधिहरु सँग लड्नका लागि प्राविधिक सहयोग पनि प्रदान गर्यो जसले गर्दा उनको मनोवल उच्च हुनुको साथै थप प्रेरित पनि गर्यो । गाउँमा आफूहरुले फलाएको तरकारीबाट बनेका अनेक परिकारहरू, सहरमा मान्छेहरु मीठो मानेर खाने गरेको प्रसंग सुनेर उनी प्रसन्न हुन्छन् । देशको अर्थतन्त्रमा थोरै भएपनि आफ्नो पनि योगदान भईरहेको आभास पनि उनलाई बेला – बेलामा भई रहन्छ ।
अहिले उनी गाउँमा एक्लैले मात्रै तरकारी खेति गरिरहेका छैनन् उनी जस्ता धेरैले पैँचो पसलसँगको सहकार्यमा तरकारी खेती गरिरहेका छन् । गाउँलाई नै एउटा नमुना गाउँको रुपमा स्थापित गर्नको लागि आफुहरु लागि परेको उनी बताउँछन् ।
न्यौपानेको अनुभवमा अहिले तरकारी खेतीमा युवाहरुको आगमन बढ्दो छ । पैँचो पसलको प्राविधिक सहयोगमा धेरै किसानहरुले धेरै प्रजातिका तरकारी खेति गरिरहेका छन् । तामादेखि खुर्सानीसम्म पनि पैँचो पसलले खरिद गरि दिन थाले पछि, आफुहरु उत्साहित भएको एक किसानले बताए ।
न्यौपाने पहिले भन्दा अहिले आर्थिक रुपले सबल रहेको दाबी गर्छन् । केही बर्ष अगाडिसम्म शिक्षकको तलब मात्रै थापिरहेका उनी अहिले तरकारी खेतीबाट मनग्य आम्दानी हुन थाले पछि आफू सन्तुष्ट भएको बताउँछन् । बार्षिक सबै खर्च कटाएर बीस लाख बराबरको आम्दानी गरेको अनुभव सुनाउँदै, उनले भने, “मेरो त समय अभावले गर्दा मात्रै हो, म सँगै सुरु गरेका साथीले अघिल्लो बर्ष मात्रै एक करोड बराबरको कारोबार गरेका थिए ।” यति मात्रै नभएर एक सिजनमा आफुले करिब तीसदेखि चालीस जना जतिलाई रोजगारीका अवसरहरू पनि सिर्जना गरिरहेको उनले बताए ।
शिक्षक भएर पनि कृषि गर्न अफ्ट्यारा लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन् ,” होइन म त खुशी छु, कसैले किसानको रुपमा मेरो परिचय गरिदिँदा मलाई गर्व लाग्छ, आफ्ना पुर्खाहरुले गर्दै आएको काममा आफुले पनि पाईला टेक्न पाउँदा आफुलाई भाग्यमानी नै ठानेको छु ।”
स्कुलमा पनि विद्यार्थीहरुलाई कृषि पेसाको बारेमा बर्णन गरेर प्रोत्साहन गर्ने गरेको उनले बताए ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-