काठमाडौं : वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका एक नेपाली कामदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेको समयमा सल्यानका गोविन्द खनालको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै ठाउँको ठाउँ मृत्यु भएको हो । उनी अवैधानिक हैसियतमा कार्यरत रहेको सहकर्मीहरूले बताएका छन् ।
बिदा सकाएर चाडैं नै घर फर्किने तयारीमा रहेका खनालले त्यसको खुसीयालीमा शनिबार साथीहरुसँग खानपिन गरेर बिदा भएका थिए । अत्याधिक गतिका कारण मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलको पछाडिको सिटमा बसेका देवबहादुर मगर गम्भीर घाइते भएको जनाइएको छ ।
मृतक खनालको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको र घाइते मगरको उपचार साहआलमा रहेको एक स्थानीय अस्पतालमा भैइरहेको जनाइएको छ ।
मलेसियामा नेपाली कामदारको मृत्यु बढिरहेको छ । त्यहाँबाट शनिबार एकैदिन २१ जना नेपाली कामदारको शव अस्तु आएको थियोे । त्यसमा ६ जनाको शव र १५ जनाको अस्तु रहेको थियोे । वैदेशिक रोजगारीका क्रममा उनीहरूको विभिन्न कारण मृत्यु भएको हो । परिवारको अनुमतिमा नेपालीको शव मलेसियामा नै अन्तेष्टि गरी अस्तु नेपाल ल्याउने गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-