काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आर.के (राजेन्द्रकुमार) शर्माले विदेशमा रहेका श्रमिकलाई विचरा पात्र बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा शर्माले ३० प्रतिशत ग्राहस्र्थ उत्पादनमा सहयोग पुर्याउने श्रमिकलाई विचाराका पात्र बनाउन नहुने बताएका हन् ।
श्रमिकलाई सम्मान गर्नु पर्ने र उनीहरू कर्मठ नागरिक भएको भन्दै नेपालमा श्रमिकलाई हेर्ने नजर विडम्बनापूर्ण रहेको उनले बताएका छन् । श्रमिकलाई सम्मान गर्न नसकेको खण्डमा देश विकास हुन नसक्ने भन्दै विदेशबाट सीप सिकेर आएकाहरूलाई राज्यले सही रूपमा सदुपयोग गर्न सक्नु पर्ने उनले बताए । रेमिट्यान्सको ६५ प्रतिशत श्रमिकबाट प्राप्त हुने भन्दै उनीहरूलाई विचारा भन्ने अवस्था अन्त्य गर्न उनले आग्रह गरेका छन् । श्रमिकले कमाएको पैसालाई लगानी गर्ने वातावरण निर्माणमा राज्यले ध्यान दिनु पर्ने उनले बताए ।
यसैबीच, नेपालमा रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भएको भन्दै यसलाई उत्पादकमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने उनले बताएका छन् । विदेशबाट फर्केका व्यक्तिहरूले केही आर्थिक उपार्जन गर्न सक्ने क्षेत्रमा लगानी गरेर सहज जीवन गुजारा गर्ने वातावरण निर्माण गर्नु पर्ने उनले बताए । यसै कार्यक्रममा एनआरएनएका सल्लाकार टी.बी कार्कीले वैदेशिक रोजगारीमा गएका श्रमिकको विषयमा भएका विभिन्न समस्याहरूको विषयमा समाचार बनाएर आमजनताका सामु पुर्याउन सफल भएकोमा सञ्चारकर्मीहरलाई धन्यवाद दिएका छन् । पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै समाजले कल्याणकारी कोष स्थापना गरे सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए । उनका अनुसार पछिल्लो समय देखिएको विवादका कारण एनआरएनए विघटन हुन सक्नेतर्फ सबैले ध्यान दिनु पर्ने बताएका छन् । एनआरएनएलाई विभाजन गर्ने खालका गतिविधि बन्द गरिनु पर्नेमा उनको जोड थियो ।
एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष हरि भट्टराईले स्थलगत रूपमै गएर रिपोर्टिङ गरेर श्रमिकका समस्या उजागर गर्न आग्रह गरेका छन् । श्रमिकका समस्या सरोकारवाला निकायमा पर्याउनु पर्ने बताउँदै विदेशबाट सीप सिकेर आएकाहरू बेरोजगार बस्नु पर्ने तर नेपाललाई चाहिने श्रमिक विदेशबाट झिकाउनु दुःखद भएको भन्दै सीप र क्षमताअनुसार रोजगारी दिनु पर्नेमा उनको जोड थियो ।
यता पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष रञ्जन कुँवरले नेपाल सरकारले पहल गर्न नसक्दा नेपालबाट कोरियन भाषा पास गरेकाहरू रोजगारीमा जान नपाएको भन्दै यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताएका छन् । एनआरएनएले मजदुरलाई समेत समेटेर अगाडि बढ्नु पर्ने उनको धारणा थियो । सो अवसरमा नवनिर्वाचित समितिलाई एनआरएनएका सचिव शर्माले खादा लगाएर सम्मान तथा बधाइ ज्ञापन गरेका थिए । सो अवसरमा सचिव शर्माले आगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषाणा समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-