नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक भिएफएसले भिषा आवेदन लिन सुरु गरेको छ । जापान सरकारले कोभिड महामारिका कारण सिमा नियन्त्रण उपाय अन्तर्गत विदेशी प्रवेशमा रोक लगाएसँगै नयाँ भिषा जारी रोकेपछि भिएफएसले जापानको लागि भिषा आवेदन स्थगित गरेको थियो ।
सेप्टेम्बर २० तारिख जारी भिएफएसको सूचना अनुसार जापान प्रवेश योग्यता प्रमाणपत्र (सिओई) आएका व्यक्तिहरुको भिषा आवेदन गर्न सकिनेछ । यसको लागि हाल केवल १,५८४ नम्वर उल्लेख भएका सिओई वाहकले मात्र भिषाको लागि आवेदन गर्न सक्नेछन् । यस बाहेकको सिओई नम्वर उल्लेख भएकाहरुको हकमा भने भिएफएसले कहिले भिषा आवेदन खुल्ने केही उल्लेख गरेको छैन ।
सिओईमा १,५८४ नम्वर उल्लेख भएकाहरुले सेप्टेम्बर २२ तारिख बुधवारबाट अप्पोईन्टमेन्ट लिन सक्नेछन् । उल्लेखित सिओई नम्वर भएका व्यक्तिहरुले काठमाडौं ठमेल छायाँ कम्प्लेक्समा रहेको भिएफएसको कार्यालयमा गएर भिषा आवेदन प्रक्रिया अगाडी बढाउनुपर्नेछ । नेपालबाट भिएफएसले भिषा आवेदन सुरुवात गर्नुलाई जापानले नयाँ भिषा वाहकलाई प्रवेश खुलाउने संकेतको रुपमा हेरिएको छ । जापानको पहिलो पटक भिषा बोकेर बसेका विद्यार्थी, वर्किगं तथा व्यावसायिक भिषा बाहकहरु एक बर्ष भन्दा बढी समयदेखि नेपालमा रोकिएर बसेका छन् ।
करिव ४ हजार विद्यार्थीहरु भिषा वा सिओई पाएर पनि नेपालमा रोकिएका छन् भने करिव एक हजारको संख्यामा रोगजार, व्यावसायिक, पारिवारिक भिषा वा प्रवेश अनुमति पत्र सिओई पाएर जापान प्रवेशको पर्खाइमा रहेको बताईन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-