जापानमा भर्खरै पिता बनेका पुरुषहरुले नयाँ शिशुको हेरचाह गर्न शिशु जन्मेको दुई महीनाभित्र एक महीनासम्मको शिशु स्याहार बिदा लिन सक्ने भएका छन् । सेप्टेम्बर २२ मा प्रधानमन्त्री योशिहिदे सुगा नेतृत्वको मन्त्रीपरिषद्ले पारित गरेको शिशु स्याहारसम्बन्धी नयाँ उपायहरुमा यस्तो बताइएको छ ।
यी उपायहरुले बच्चा जन्मिएलगत्तै आफ्नो परिवारको हेरचाह गर्न नवपिताहरुलाई मद्दत गर्नेछ । यो नियम सन् २०२२ को अक्टोबर १ देखि कार्यान्वयनमा आउनेछ । यो नयाँ शिशु स्याहार कार्यक्रम अन्तर्गत पर्दछ । यसलाई जुनमा संसोधित शिशु स्याहार र स्याहारकर्ता कानूनमा समावेश गरिएको छ । कल्याण मन्त्रालयले गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०२० मा १२ दशमलव ६५ प्रतिशत पुरुषले मात्रै शिशु स्याहार बिदा लिएका थिए ।
यस्तो बिदा लिने महिलाको तुलनामा यो निकै कम हो । नयाँ उपायहरु अन्तर्गत भने पिताहरुले चार हप्ताको शिशु स्याहार बिदालाई दुई पटक गरेर लिन सक्नेछन् । यो बिदा एक पटक शिशुको जन्म र अर्को चाँहि नवआमा अस्पतालबाट घर गएपछि लिन सकिनेछ । यस परिवर्तनले पुरानो नियम अन्तर्गत दिइएको शिशु स्याहार बिदालाई दुई भागमा विभाजन गरेर लिने अमुमति नवपिताहरुले पाउनेछन् ।
यसको अर्थ पिताहरुले दुई कार्यक्रमलाई प्रयोग गरेर चार पटकसम्म छुटै बिदा लिन सक्नेछन् ।नियममा गरिएको अर्को परिवर्तनले पिताहरुलाई शिशु स्याहार बिदा लिएकै बेलामा पनि काम गर्ने अनुमति दिनेछ । काम गर्न नपाइने व्यवस्थाका कारण कयौं पुरुषहरुले बिदाको लागि अनुरोध नगरेको हुन सक्ने अनुमान गरेर यो परिवर्तन गरिएको हो । पुरुषहरुले बिदा शुरु हुनु अघि २ हप्ता अगाडि बिदाका लागि आवेदन दिन सकनेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-