आगामी महिनादेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर खोलिने जानकारी गराएका हुन्।
‘भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिनेछ र आगमनमा सहज बनाइँदै लगिनेछ। पहिलो चरणमा अस्ट्रेलियाका नागरिक र पीआरलाई प्राथमिकता दिइनेछ। उनीहरूले त्यसपछि एक साता होम क्वारेन्टाइनमा बस्नुपर्नेहुन्छ’, प्रधानमन्त्री मोरिसनले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, ‘त्यसपछि भ्याक्सीन लगाएका अस्ट्रेलियनको लागि बिदेश भ्रमणको पनि बाटो खुल्नेछ।’
न्युजिल्यान्डलगायत केही सुरक्षीत राष्ट्रसँग बीना क्वारेन्टाइन यात्राको वातावरण बनाउने प्रयासमा लागिपरेको प्रधानमन्त्री मोरिसनले बताए। यसको मुख्य उद्देस्य भनेको अस्ट्रेलिया र यहाँका नागरिकलाई पुरानै लयमा फर्काउनु भएको प्रधामन्त्री मोरिसनले भने।
‘हामी चिनियाँ भ्याक्सिन सिनोभ्याक्स र भारतीय खोप कोभिसिल्डलाई पनि मान्यता दिने क्रममा छौं। यसले अन्तर्राष्ट्रिय विद्यार्थी तथा वरपरका अन्य पर्यटकलाई समेत अस्ट्रेलिया आवागमनमा सहज हुने अनुमान गरिएको छ’, उनले भने।
अस्ट्रेलियाले यसअघि फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका र मोड्रेर्नालाई मात्र मान्यता दिँदै आएको थियो। प्रधानमन्त्रीको शुक्रबारको भनाइपछि लाखौ संख्यामा अड्किएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा सहज हुने अपेक्षा गरिएको छ। करिब ४५ हजार अस्ट्रेलियनसमेत विदेशमा अड्किएका छन।
अस्ट्रेलियन राज्यमा सबैभन्दा बढी दोहोरो खोप लगाउने राज्यका रुपमा एनएसडब्लु छ। हालसम्म यस राज्यका ६६ प्रतिशत जनताले भ्याक्सीनको डलब डोज लगाइसकेका छन् भने त्यसपछि राजधानी क्यानबेरा दोस्रो नम्बरमा रहेको छ। जसमा एसीटीका ६४ प्रतिशत जनताले दोहोरो खोप लगाइसकेका छन्।
सिडनीमा शैक्षिक व्यवसायमा संलग्न किंगस्टन इन्सिच्यूट अस्ट्रेलियका निर्देशक दिपक खनालले सरकारको यो कदमले यस क्षेत्रमा लागेकोलाई केही राहत महसुस भएको बताउँछन्।
‘अघिल्लो वर्षको मार्चदेखि बन्द अन्तर्राष्ट्रिय बोर्डरका कारण शैक्षिक संस्थाको अवस्था अत्यन्तै नाजुक बन्दै गएको थियो, अब सरकारको बोर्डर खोल्ने र चिनियाँ तथा भारतीय भ्याक्सीनलाई पनि मान्यता दिने निर्णयले सबैमा उत्साह बढेको छ’, निर्देशक खनालले भने, ‘भिसा लागेर अड्किएका विद्यार्थीदेखि यस व्यवशायसँग प्रत्यक्ष र अप्रत्यक्षरूपमा जोडिएका लाखौं मानिसको मुहारमा केही मधुरो भए पनि मुस्कान छरेको छ।’
शैक्षिक परामर्शदाताहरुको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले सरकारको पछिल्लो कमद स्वागतयोग्य रहेको भन्दै यसले शैक्षिक परामर्श ब्यवसाय र विद्यार्थीलाई सकरात्मक शन्देश दिएको बताए।
सिटौलाले १७ महिनादेखि ठप्प रहेको अन्तराष्ट्रीय बोर्डरका कारण नेपालमा पनि हजारौ विद्यार्थी अडकिएर बसेको र यस निर्णयले उनीहरूको अस्ट्रेलिया आउने बाटो खोल्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-