अलजजिरा । कतारको इतिहासमै पहिलो पटक व्यवस्थापिकाको चुनाव हुने भएको छ । शनिबार सल्लाहकार र कानुन निर्माता निकाय शुरा काउन्सिलको दुई तिहाई सदस्यहरूको निर्वाचन हुन लागेको हो । ४५ सदस्यीय शुरा काउन्सिलमा ३० जना निर्वाचित हुनेछन् । बाँकी १५ जना २००४ को संविधान अनुसार कतारी अमीरले नियुक्त गर्नेछन् ।
यसलाई विश्लेषकहरूले खाडी मुलुकमा नागरिकको राजनीतिक सहभागिता बढाउनेतर्फ एक कदम भनेका छन् । शुरा काउन्सिलले राज्यका साधारण नीतिहरू र कानुनी प्रस्तावहरूको स्वीकृत एवं अस्वीकृत गर्नुका साथै बजेटमाथि नियन्त्रण गर्छ । कतारमा राजनीतिक पार्टीमाथि प्रतिबन्ध छ । तर, नगर चुनावमा मतदान गर्न नागरिकलाई अनुमति दिइएको छ ।
महिला पनि उम्मेदवार
शुरा काउन्सिलको ३० सदस्यका लागि हुने चुनावमा महिलाले पनि उम्मेदवारी दिएका छन् । २९ महिलासहित २९४ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । यसलाई महिलालाई पनि राजनीतिक क्षेत्रमा स्वीकार गर्नेतर्फ कतार अघि बढिरहेको रूपमा अर्थ्याइएको छ ।
वंशज नागरिकले मात्र मतदान गर्न पाउने
चुनावमा वंशजको नागरिकता भएका १८ वर्षमाथिका नागरिकले मात्र मतदान गर्न पाउनेछन् । अङ्गीकृत नागरिकलाई मताधिकार दिइएको छैन । यद्यपि, हजुरबुबा कतारमा जन्मेको अङ्गीकृत नागरिकले भने मतदान गर्न पाउनेछन् । कतिपय संस्था एवं समूहले यस प्रावधानको बिरोध गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-