चक्रवात शहीन बारे अत्यन्त जरूरी सूचना।
उपरोक्त सम्बन्धमा ओमानको राष्ट्रिय बहु-विपद पूर्व सतर्कता केन्द्र (National Multi Hazard Early Warning Centre) ले जारी गरेको सूचना अनुसार पछिल्लो समयको अरब सागरसँग सम्बन्धित मौसम सम्बन्धी तथ्यांकहरूलाई विश्लेषण गर्दा मस्कटभन्दा 650 कि. मि. दुरीमा अरब सागरमा केन्द्रबिन्दु बनाएर एक ट्रोपीकल चक्रवात (Tropical Cyclone) शुरू भएको छ जुन तिब्र गतिमा ओमान सि तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ। उक्त चक्रवातको प्रभावले देहायका प्रभावहरू पार्न सक्ने अनुमान गरिएको छ।
1. मस्कट तथा मस्कटबाट उत्तरतर्फको समुन्द्र तटीय क्षेत्रमा आउँदो २-३ दिनसम्म प्रभाव पार्ने अनुमान गरिएको छ।
2. यसको कारणले प्रभावित क्षेत्रमा ठुलो हावा हुरी एवम् ६०० मि.मि. सम्मको भीषण वर्षा हुन सक्ने जसले गर्दा खोला नालाहरूमा पानीको बहाव बढन गई बाढी आउन सक्ने अनुमान गरिएको छ।
3. समुन्द्र सतहको उच्च मात्रामा बृद्धि हुन सक्नेछ ।
तसर्थ
1. यस प्रतिकुल मौसममा ओमानमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई पूर्व तयारी साथ सचेत रहन तथा आफ्नै आवासमा सुरक्षित रहन नेपली दूतावास अनुरोध गर्दछ।
2. आज, भोलि र पर्सि समुन्द्र तटीय क्षेत्रको वरिपरि नजानु हुन तथा सो आसपास रहेर काम गर्ने वा बसोबास गर्ने नेपालीहरूले उच्च सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।
3. धेरै पानी परेको कारणले कुनै पनि बेला खोला नाला बढ्न सक्ने सम्भावना भएकोले खोला नाला वरि परी नजान हुन तथा खोला नतर्न हुन समेत सबैमा अनुरोध गरिन्छ।
4. मौसम सम्बन्धी थप अध्यावधिक विवरणहरू हेर्दै गर्न तथा आधिकारिक सूचनाहरू मात्रै भर पर्न सबैमा अनुरोध गरिन्छ।
उक्त प्रतिकुल मौसमको कारण 2078 असोज १७ र १८ गते आइतबार र सोमबार ओमानमा सम्पूर्ण सरकारी कार्यालयहरू तथा नेपाली राजदूतावास मस्कट नियमित कार्यका लागि बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ।
यस सम्बन्धमा थप केही बुझ्न परेमा नेपाली दूतावासको हटलाइन 7159-2490 वा स्थानीय प्रहरी 9999 वा PACA -24343666 मा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गरिन्छ।
नेपाली राजदूतावास
मस्कट, ओमान
२०७८ असोज १६ गते शनिबार।
प्रतिक्रिया लेख्नुहोस्:-