लन्डन ।गोर्खा आन्दोलनको एक अग्रणी संगठन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको विदाइ गरेको छ।लन्डन गोल्डनसिपमा बिहीबार सांझ आयोजित एक कार्यक्रमबीच सत्याग्रहले राजदूत दम्पत्तिको विदाइ गरेको हो ।
कार्यक्रममा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले राजदूत रेग्मीको कूटनीतिक क्षमता र साहसका कारण आफूहरुको भोक हड्ताल अन्त्य भइ बेलायत सरकार वार्तामा बस्न राजी भएको भन्दै उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए।
प्रमुख संयोजक राईले राजदूत रेग्मीको कार्यशैली र गोर्खाको अभिभावकका रुपमा उनको सहयोगी भावना स्मरण भइरहने पनि बताएका थिए ।
प्रत्युत्तरमा राजदूत रेग्मीले भनेका थिए, ‘म केही महिना बस्न पाएको भए गोर्खा मुद्दा किनारा लगाइ इतिहास लेख्न चाहन्थें । जोखिम मोलेरै काम गर्ने व्यक्ति हुं म । बेलायती कयौं मन्त्रीलाई भेटें । प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि भेट्ने र महारानी समक्ष गोर्खा मुद्दा राख्ने मेरो सपना अधुरो रह्यो ।’
रेग्मीले आफू नेपाल रहे पनि अब आउने नयां राजदूतसंग आफूले थालनी गरेको कामबारे प्रष्ट पार्ने आश्वासन दिएको पनि राईले जनाए ।
राजदूत रेग्मीले गोर्खा मुद्दा समाधानका लागि मन्त्रीस्तरिय वार्ता कमिटी गठन हुनुपर्नेमा जोड दिंदै यसका लागि आफूले पनि पहल गर्ने बताएको राजदूतको भनाइ उधृत गर्दै सत्याग्रहले बताएको छ ।
सो अवसरमा राईले आफूहरु फेरि आन्दोलनमा फर्कनु नपर्ला कि भन्ने विश्वास व्यक्त गरेका थिए ।
सत्याग्रह संघर्ष समितिकी महासचिव शैन्द्र थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनाल, अन्य कर्मचारी र भूतपूर्व गोर्खाहरुको सहभागिता थियो ।
गत सप्ताहन्त अल्डरसटमा पहिलो भिसी विजेता कुलवीर थापाको सालिक अनावरण र दूतावासमै बिहीबार आयोजित उर्जा सम्मेलनमा समेत नदेखिएका राजदूत रेग्मी सत्याग्रह कार्यक्रममा भने आएका हुन् ।
गत २१ सेप्टेम्बरमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका कर्मचारीबाहेक पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका सबै १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी अक्टोबर अन्तिम साता नेपाल फर्किंदैछन् । उनले कार्यभार सम्हालेको करिब ६ महिनामात्र भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-