काठमाडौं: इपीएस रोजगार प्रणालीबाट कोरिया गएका भोजपुरको साल्पासिलिछो गाउँपालिका १ कुलुङका सुजन घलेको शव आइतबार ल्याइने भएको छ । उपचारका क्रममा निधन भएका २८ वर्षीय घलेको शव आज काठमाडौं ल्याइने दक्षिण कोरियामा कार्यरत सिताराम गिरीले जानकारी दिए।
उनका अनुसार घलेको सेप्टेम्बर १७ तारिकमा नुनसानस्थित स्थानीय अस्पतालमा निधन भएको थियो । घलेलाई काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएको गरिएको थियो। मुटु र टाउकोमा समस्या देखिएकाले उनको उपचाररत हुँदै गर्दा निधन भएको गिरीले जानकारी दिए ।
तर केही वर्षदेखि गैरकानुनी बसोबास भएका कारण उपचारमा कठिनाइ भएको थियो। थप उपचारका लागि ठूला अस्पतालमा लैजान कानुनी जटिलताले घलेलाई भर्ना गर्न समस्या भएको थियो ।
दक्षिण कोरियामा कार्यरत नेपाली तथा दक्षिण कोरियास्थित नेपाली दूतावासको समन्वयमा उपचारका लागि समन्वय भइरहेका बेला उनको निधन भएको थियो । गैर कानुनी बसोबासअन्तर्गत स्वास्थ्य बिमा नहुने भएकाले उपचार गर्न समस्या भएको दक्षिण कोरियामा कार्यरत गिरीले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा उपचार महङ्गो पर्न गइ कुल साढे तीन करोड वोन बिल उठेकोमा एक करोड छुट दिइ हाल दुई करोड ५० लाख तिर्नुपरेको छ। घले कार्यरत कम्पनीबाट दुई करोड २५ लाख वोन प्राप्त भएपनि बाँकी रकम दक्षिण कोरियामा कार्यरत नेपालीले उठाएर उपचार गर्न र शव पठाउन सहयोग गरेका छन् ।
गिरीका अनुसार २५ लाख वोन मृतकका तर्फबाट तिर्नुपर्ने भएकाले सहयोगका लागि दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली तथा विशेष गरी भोजपुरबाट काम गर्न गएका सबै नेपालीलाई सहयोगको याचना गरिएको थियो ।
अस्पतालमा तिर्न बाँकी २५ लाख, शव गृह र हवाईजहाज खर्च गरी ९० लाख वोन रकमका लागि भोजपुर परिवार दक्षिण कोरियाले नेपालीसँग सहयोग मागेको थियो ।घलेको शव नेपाल पठाउन र अस्पतालको बिल तिर्न २ सय ७ जना नेपालीले आफ्नो गक्ष अनुसार सहयोग गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-