यूएई : यूएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन, करीब ४५ लाख रूपैयाँ जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउदै आएका इलाम जमुनाका नरेन्द्र मगरले आइतवार भएको लक्की ड्र मा एक किलो सुन जितेका हुन् ।
एक्सचेञ्जका अपरेसन प्रमुख कमल सुब्बाले विगत दुई वर्षदेखि यूएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको पदमा काम गरिरहेका नरेन्द्रले उक्त सुन जितेको बताए । नरेन्द्रले गत जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिहराम नेपाल पठाएका थिए ।
गत १६ मेदेखि १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तरगत विदेश रकम पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।
वैदेशिक रोजगारमा गएको कामदाले ५० ग्राम भन्दा धेरै सुन नेपाल ल्याउन नपाउने व्यवस्थाका कारण मगरलाई एक्सचेन्जले सुनको सट्टा नगद दिने बताएको छ ।
लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नरेन्द्रले ४४ लाख ७८ हजार ९ सय ५२ रुपैयाँ पाउने भएका छन् । एक्सचेन्ज लक्की ड्र गर्दा नरेन्द्र भने काममा व्यस्त रहेको बताइएको छ । सन् २०१३ मा नेपाली कामदार नेपाली रामबहादुर कटुवालले पनि एक लाख दिहराम जितेका थिए भने फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिहराम जितेका सेन्चुरी रेमिटका यूएई प्रमुख प्रकाश पौडेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-