वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुराउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पु¥याएका हुन् । खासगरी कुवेत पठाउने भन्दै दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।
खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले घरेलु कामको वर्गमा जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन ।
तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेकोे बताइएको छ ।हाल यूएईमा थुप्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।
पछिल्ला दिनमा खाडीलगायतका मुलुकमा लगिएका महिलाको संख्या बढ्दै गएको यूएईमा कार्यरत नेपालीका संस्थाका प्रतिनिधिहरूले मध्याह्नलाई बताएका छन् ।
विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलंका हुँदै लैजाने गरेकोमा पछिल्लोपटक भिजिट भिसामा सिधै या थाईल्याण्ड लगायतका देशहुदै यूएई पुराउने गरेको श्रोतको भनाइ छ ।
कोरोना भाइरस विरूद्धको खोप लगाउनेको संख्या बढी महामारीको संक्रमण नियन्त्रणमा आएपछि यूएईले नेपाल सहित विभिन्न देशका नागरिक माथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । यात्रामा सहजता आएपछि नेपाली महिलालाई अवैधानिक रूपझलैजाने क्रममा तीव्रता आएको र त्यसमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही कर्मचारी, एयरलाइन्स र ट्राभल एजेन्सीका कर्मचारीले सेटिङ गरेर पठाउने गरेकोे बताइएको छ ।
पछिल्लो समय घरेलु कामदारको नाममा महिलासँगै पुरुष कामदारको पनि तस्करी भइरहेको श्रोतले बतायो । खाडीका कुवेत र साउदी अरबमा घरेलु कामदारको माग उच्च रहेको छ । कुवेतका ८७ प्रतिशत घरमा विदेशी घरेलु कामदारको उपस्थिति देखिएको छ ।
स्थानीय समाचार पत्रहरूका अनुसार कुवेतमा मात्र ७ लाख ३२ हजार विदेशी नागरिक घरेलु कामदारको रोजगारीमा छन् । साउदीमा त्यसभन्दा बढीको माग रहेको छ । तर कोरोना महामारीको कारणले विदेशबाट कामदारको आपूर्तिमा अवरोध सिर्जना भएको छ ।
दलाल तथा मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला र किशोरीलाई यूएईमा ल्याएर यहा‘बाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउदै आएको छ ।
मानव वेचविखन मुद्दामा पक्राउ परेका अभियुक्तहरूले बयानका क्रममा यूएईमा पुर्याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउढाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-