काठमाडौं : नेपालले ‘आबुधावी डायलक’ मा नेपालले नेपाली कामदारको पारिश्रमिकमा भईरहेको भेदभाव र उनीहरूको सामाजिक सुरक्षाका विषय उठाउने भएको छ । युएईको राजधानी आबुधावीमा हुने मन्त्रीस्तरिय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागि हुन लागेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
अक्टोबर २५ तारिखदेखि हुने मन्त्रीस्तरिय बैठकमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोलीले भाग लिदैंछ । टोली आईतवार अपरान्ह त्यसतर्फ प्रस्थान गर्ने तयारी छ ।
युएई प्रस्थानको पूर्वसन्ध्यामा वैदेशिक रोजगार पत्रकार समाजसंगको भेटमा मन्त्री श्रेष्ठले समकक्षी विदेशी कामदारको तुलनामा नेपाली कामदारले समान काम गरे पनि पाउने पारिश्रमिकमा विभेद रहेको बताउंदैै उक्त नीति परिवर्तन गरि पारिश्रमिकमा समानता कायम गराउने विषयमाथि जोड दिने बताए ।
बैठकमा कामदार पठाउने तथा रोजगारी दिने १६ मुलुकका श्रम मन्त्री श्रेष्ठले भाग लिदै छन् । बैठकमा वाली प्रोसेस, युरोपियन युनियन, गल्फ हेल्थ काउन्सिल ,माईग्रेसन फोरम एशिया लगायतका संघ संस्था पर्यवेक्षक रहेका छन । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा रहेका कामदारको सामाजिक सुरक्षाको विषय पनि नेपाली पक्षको प्रमुख एजेन्डामा रहेको बताए ।
उनले भने– ‘उमेर भईन्जेल विदेशी मुलुकको आर्थिक उन्नती र समृद्धिका लागि काम गर्ने तर उमेर ढल्केपछि कामदार खाली हात फर्किने हुदा वाँकी जीवन हातमुख जोर्न समस्यामा पर्ने अवस्था छ । त्यसैले यसपटक सामाजिक सुरक्षाको विषयलाई जोडदिने एजेन्डा बनाएका छौ ।’
मन्त्री श्रेष्ठले नेपालबाट वैदेशिक रोजगारी जाने ९७ प्रतिशत भन्दा बढी कामदार अदक्ष र सीप विहिन रहेकोले उनीहरूलाई दक्ष बनाउने विषयमा पनि छलफल चलाउने बताए । केही दिन अघि नेपालका लागि युएईका राजदूतसंग आफूले गरेको छलफलमा स्मरण गर्दै मन्त्री श्रेष्ठले भने– ‘नेपालमा चिकित्सक, नर्स, ईन्जिनियर जस्ता जनशक्ति पनि प्रयाप्त मात्रामा छन् । सलाम गर्ने कामदारमात्रै लैजान क्रम तोड्नुपर्छ भनेर भनेको छु ।’
निमुखा श्रमजीवी जनताको सुरक्षा आफ्नो मुख्य ध्येय रहेको भन्दै मन्त्री श्रेष्ठले आबुधावीमा रहँदा आफूले वैदेशिक रोजगार रहेका नेपाली कामदारसंग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या बुझ्ने योजना बनाएकोसमेत बताए ।
त्यसैगरी मन्त्री श्रेष्ठले दक्षिण कोरिया र जापानमा नेपाली कामदारको सुनिश्चितता गर्ने आफ्नो योजना रहको बताए । कोरीयाको अवरुद्ध रोजगार प्रकृयाका विषयमा शुक्रबार नै परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग छलफल गरेका मन्त्री श्रेष्ठले दुई वर्षअघि सकिएको कोरियासंगको श्रम संझौता नवीकरणको गृहकार्य भईरहेको जानकारी दिए । कोरियाली पक्षले नेपालमा हुने भाषा परिक्षाको गुणस्तरीयता देखि कोरियाली सरकारको आर्थिक सहयोगमा सहरी विकास मन्त्रालयले बनाएको भैसेपाटी स्थित तालिम भवनको सुरक्षामा प्रश्न उठाएको छ ।
मन्त्री श्रेष्ठले कोरियाली पक्षको गुनासो संवोधन गरेर कोरीयाको रोजगारी सुनिश्चित गरिने दावी गरे । आफू गुणस्तरीय वैदेशिक रोजगारको पक्षमा रहेको भन्दै मन्त्री श्रेष्ठले युरोपेली मुलुकको डिमाण्ड प्रमाणिकरणमा रहेको समस्याको समाधान गर्ने समेत बताए । उनले भने –आजै यस विषयमा परराष्ट्र मन्त्रीसंग छलफल गरेको छु, दूतावासहरूमा जनशक्तिको अभाव देखाउने गरेका छन् । तर त्यसको पनि समाधान खोजिने छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ
प्रतिक्रिया लेख्नुहोस्:-