काठमाडौं। मलेसियाको मानव अधिकार आयोग (सुहाकाम)ले त्यहाँ नेपाली नागरिकको उच्च मृत्युदरबारे जाँच गर्ने भएको छ । मलेसियास्थित नेपाली दूतावासले पछिल्लो समय त्यहाँ नेपाली नागरिकको मृत्युदर उच्च भएको रिपोर्ट सुहाकामलाई बुझाएको थियो । त्यसपछि शुक्रबार एक पत्रकार सम्मेलन गर्दै सुहाकामले आफूले यस सम्बन्धमा जाँच गर्ने बताएको हो ।
सुहाकामका कमिश्नर जेराल्ड जोसेफका अनुसार मानव अधिकार आयोगलाई त्यहाँस्थित नेपाली दूतावासले २०१८ देखि २०२१ को जुलाइसम्म ११५८ नेपाली आप्रवासी कामदारको मलेसियामा मृत्यु भएको रिपोर्ट बुझाएको थियो । मले मेलमा प्रकाशित एक रिपोर्टअनुसार दूतावासले बुझाएको रिपोर्टमा मृत्युको प्रमुख कारण आत्महत्या, कार्यस्थलमा दुर्घटना, निमोनिया, कोभिड–१९ र अन्य रोगहरु भएको उल्लेख छ ।
‘सम्भवतः श्रम विभाग वा सुरक्षा र स्वास्थ्य विभाग पनि यो जाँचमा समावेश हुन सक्छन् । हामी यी मृत्युहरु किन भइरहेका छन् र यसको पछाडि के जिम्मेवार छ भन्ने जान्न चाहन्छौं’ कमिश्नर जेराल्डले शुक्रबार सुहाकाममा आयोजित एक पत्रकार सम्मेलनमा भने । जेराल्डका अनुसार यस विषयमा थप जानकारी प्राप्त गर्नको लागि आयोगले जाँचमा नेपाली दुतावासका प्रतिनिधि र सम्बन्धित एजेन्सीका प्रतिनिधिलाई पनि सहभागी गराउनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-