काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतारसँगको श्रम सम्झौतालाई बढी प्रभावकारी बनाउन लिखित सुझाव संकलन शुरू गरेको छ । संघले व्यवसायी र कामदारको हितलाई प्राथमिकतामा राखी सुझाव पठाउन आफ्ना सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ ।
संघका महासचिव सुजित कुमार श्रेष्ठले विभिन्न पक्षहरूसँग छलफल भइरहेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) सँग यसअघि भएजस्तै शून्य लागतमा नेपाली कामदार पठाउने मोडालिटीमा श्रम सम्झौता नवीकरण गर्नुपर्ने बताए । सन् २००७ मा कतार सरकारसँग कामदार पठाउने सम्झौता भएको थियो ।
नेपाल र कतारबीच आगामी नोभेम्बर दोश्रो साता श्रम सम्झौता नवीकरण गर्ने तयारी छ । त्यस सम्झौतामा धेरै विषय थप गर्नुपर्ने नेपाली पक्षको भनाइ छ ।
यूएईसँगको सम्झौतामा नेपाली कामदारको लागत रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने, रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने पाउने, कामदारलाई ज्याला, अतिरिक्त समय भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न समेत नपाइने व्यवस्था छ ।
त्यस्तै कामदारले राहदानीलगायत आफनो व्यक्तिगत विवरण आफुले नै राख्न पाउने, कामदारको मृत्यु भएमा सकेसम्म छिटो रोजगारदाताको खर्चमा नेपालमा शव पठाउने, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेका छन् । महासचिव श्रेष्ठले कतारसँगको सम्झौतामा पनि यी पक्षलाई समेटिनु पर्ने बताए ।
पीडित कामदारले निःशुल्क कानूनी उपचार, विवाद विचाराधीन रहेको अवस्थामा अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्न पाउने, व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने लगायतका व्यवस्था छ । संघले तिहारलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठलाई लिखितरूपमा सुझाव दिने महासचिव श्रेष्ठले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-