काठमाडौं : कुवेतमा प्रतिबन्धित मदिरा र गाँजा उत्पादन गरी बेच्ने नेपालीको गैरकानूनी धन्दा पुनः एकपटक सार्वजनिक भएको छ । ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेपछि लुकिछिपी अवैध मदिराको उत्पादन र अवैध व्यापारको धन्दा सार्वजनिक भएको हो ।
कुवेत प्रहरीले स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपालीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीका क्रममा प्रहरीले गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र मदिरा फेला पारेको छ ।
कुवेतमा भिसा अवधि सकिएर अवैधानिक भएर बसेका नेपाली घरेलु मदिरा उत्पादनको अवैध धन्दामा लाग्ने गरेकोे पटकपटक सार्वजनिक हुने गरेको छ । अवैध मदिराको उत्पादनमा नेपालीको संलग्नताले स्थानीयस्तरमा नेपाली समुदायको बदनाम भएको त्यहाँस्थित नेपाली सामाजिक तथा परोपकारी संस्थाहरुमा क्रियाशील नेपालीहरूले बताउने गरेका छन् । न्यून आय भएका केही मजदुरले दिनभरिको थकाइ मेटाउन नसालु पदार्थको खोजी गर्ने गरेकोे बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-