जापानले नोभेम्बर ८ देखि विदेशी विद्यार्थीहरूका लागि सिमाना पुनः खोल्ने घोषणा गरेको छ । तर यसमा प्रवेश गर्नेहरूले क्वारिन्टिन १४ दिन पूरा गर्ने सहित सरकारले तोकेका निश्चित शर्तहरू पूरा गर्नुपर्दछ ।
यो कदम जापान सरकारले संसदिय निर्वाचन लगत्तै घोषणा गरेको हो । ओलम्पिक र पाराओलम्पिक खेलहरू आयोजना बर्षदिन ढिलो आयोजना गरेको जापानले कोभिड महामारीकै कारण देशमा करिव दुई बर्षदेखी बिदेशी प्रवेश लगभग बन्द अवस्थामा राखेको थियो । सिमा प्रतिबन्ध संक्षिप्त रूपमा खोल्ने क्रममा विद्धत व्यक्ति तथा सरकारी अनुदानमा अध्ययनमा आउने व्यक्तिहरुका लागि खुल्ला गरिएका छन् ।
जापान विदेशबाट प्रवेश गर्ने विद्यार्थीहरूका लागि पुन प्रवेश खोल्ने औद्योगिक राष्ट्रहरुको समुह जि सेभेन मध्ये अन्तिम देश हो । अक्टोबर २०२० देखि जनवरी २०२१ सम्म करिव चार महिना सिमा प्रवेश खुला गरेपनि गत बर्षको अन्तिम समयमा कोरोना भाइरस महामारी सुरु भएदेखि जापानले सीमा नाका बन्द गरेको छ । अहिलेसम्म जापान प्रवेश कहिले सहज रुपमा खोल्न सकिन्छ भन्ने कुनै संकेत छैन । जापान सरकारले दिने छात्रवृत्ति, सरकारी आदान प्रदानका अध्ययन तथा सोध अध्ययन सहित अन्य विद्यार्थीहरू मात्र प्रतिबन्धका समयमा सिमित संख्यामा प्रवेश पाउँदै आएका छन् ।
जापानको शैक्षिक समुदायले जापानसँग सम्बन्ध बनाउन चाहने विदेशी विद्यार्थीहरूलाई निजी खर्चमा अध्ययनमा आउन गरेको रोकावटमा दुःख व्यक्त गर्दै आएका छन् ।
गत अक्टोबरको मध्यमा, जापान आईसीयू फाउन्डेसनका कार्यकारी निर्देशक, पल हेस्टिङ्सले ६०० भन्दा बढी शिक्षाविद्, पेशेवर, विद्यार्थी र अन्यको हस्ताक्षर संकलन गरी जापानी सरकारलाई सीमानाहरू खोल्नको लागि अपील प्रस्तुत गरेका थिए । जसमा जापानको यात्रा प्रतिबन्धले जापानका शैक्षिक संस्थाहरूको विश्वव्यापी सम्बन्ध र प्रतिष्ठालाई खलल पारेको उल्लेख सहित दबाव दिइएको थियो ।
जापानमा विदेशी विद्यार्थी घटे
यसैबीच, जापानको विद्यार्थी भिषामा भारी गिरावट आएको छ । न्याय मन्त्रालयको तथ्याङ्कले २०१९ मा जापानले करिब १२०,००० नयाँ विद्यार्थी भिषा जारी गरेको देखाएको छ, तर २०२० मा यो संख्या ५०,००० र जुन २०२१ सम्ममा ७,००० मा झरेको छ ।
२०१९ को अन्त्यमा जापानमा ३४५,७९१ विदेशी विद्यार्थी भिसा भएका थिए तर समग्रमा, जुन २०२१ को अन्त्यमा २२७,८४४ जनामा झरेको छ । करिव १८ महिनाको अवधिमा जापानमा बिदेशी विद्यार्थीको संख्या ३४ प्रतिशतले कम हुन पुगेको छ ।
विद्यार्थी भिषामा जापान आउनेहरुको श्रेणीमा जापानी भाषाका विद्यार्थीहरूको उल्लेखनीय संख्या रहने गरेको छ । जसमध्ये धेरैले दुई वर्षको भाषा अध्ययन पछि जापानमा थप शिक्षा लिन चाहन्छन् । जापानी भाषा शिक्षाको प्रवद्र्धनको काम गर्दै आएको जापानी भाषा विद्यालयहरूमा मापदण्डहरू निरीक्षण निसिंक्योका अनुसार लगभग २२,००० विद्यार्थी कुनै न कुनै प्रकारको अध्ययनमा गएको देखाएको थियो ।
सीमा नियन्त्रणले भाषा विद्यालयहरूमा भर्ना घट्दै गएको छ । निसिंक्योको सदस्य विद्यालयमा गरिएको सर्वेक्षणले आर्थिक बर्ष २०१९ र २०२० को बीचमा देशभरका २२७ संस्थामा ४१,६०० बाट २२४ विद्यालयमा २४,२५३ पुगेको देखाएको छ । यो आर्थिक बर्ष २०१० देखि आर्थिक २०११ को तुलनामा पनि ठूलो गिरावट हो, जुन समयमा विद्यार्थीहरू केहीले घटेको समेत थियो । किनकि त्यस समय ‘ग्रेट ईस्ट’ जापान भूकम्प पछि १० हजारले घटेको थियो ।
हिरोको यामामोतो काई जापानी भाषा विद्यालयका अध्यक्ष हुन्, जुन उनले १९८७ मा स्थापना गरेकी थिईन । जुलाई २०२० सम्म, स्कूलमा ८६ विद्यार्थी भर्ना भएका थिए, जसमध्ये धेरै युरोप, अमेरिका र ताइवानका थिए । उनी निसिंक्योमा टोकियो क्षेत्र प्रतिनिधि काउन्सिलरको रूपमा समेत काम गर्छिन्, र ‘एजुकेशन इज नट टुरिज्म’ अभियानकी उपाध्यक्ष छिन् । जसले प्रवेश प्रतिबन्धको बेला जापान बाहिर पर्खिरहेका विद्यार्थीहरूमा आशा थप्ने काम गर्दै आएकी छिन् ।
आधिकारिक सरकारी घोषणा अघि बोल्दै, यामामोतोले भने कि उनी सीमा प्रतिबन्ध हटाउने कुराको स्वागत गछिन् । उनले प्रतिक्रिया दिर्घकालिन हुने वा २०२० को अन्त्य र २०२१ को शुरुवातको अस्थिर जस्तैमा अन्त्य हुने भन्नेमा आफू सबैभन्दा चिन्तित रहेको बताइन् । सरकारले चाँडै विदेशी विद्यार्थीहरूलाई मात्र प्रवेश प्रदान नगरि संक्रमण फैलिए पनि स्थिर प्रवेश स्वीकृति प्रदान गर्नुपर्ने उनको भनाई छ । किनभने, यदि अर्को शैक्षिक सत्रको बीचमा कोरोना भाइरस छैटौं लहर देखा परेमा जनवरीको वरिपरि संक्रमण फैलिने र प्रवेश क्रम रोकिने र हामी फेरि उही स्थितिमा पुग्ने उनको आशंका छ । यो विद्यार्थीहरूको लागि दुःखको कुरा हुने र जापान विदेशी विद्यार्थी अध्ययन गर्नको जोखिमको रूपमा हेरिने उनको चेतावनी पूर्वक सरकारलाई सचेत गराईन् ।
जापानी विद्यालयहरु सीमा खुल्दा सकेसम्म धेरै विद्यार्थीहरू ल्याउने तयारीमा छन् । किनभने उनिहरुलाई पनि थाहा छैन यो पुन कहिले बन्द हुन्छ । त्यो सबैको पुरानै चिन्ताको एउटै बिन्दु हो ।
नोभेम्बर ५ मा नयाँ उपायहरू घोषणा गर्न आयोजित सरकारी पत्रकार सम्मेलनमा, उप मुख्य क्याबिनेट सचिव सेजी किहाराले सरकारले चरणबद्ध रूपमा प्रतिबन्धहरू खुकुलो पार्दै अगाडि बढ्ने कुरामा जोड दिएका थिए । तर जापानले नयाँ संक्रमण फैलने अवस्थामा विस्तार लचिलो नीति अपनाउने बताए । किनकी एकसाथ सबै प्रवेश खुलाउँदा स्थिति विग्रन सक्ने उनको भनाई थियो ।
सरकारी घोषणा पछि ३७०,००० विदेशीहरू जो जापान प्रवेशको अनुमति पाएर प्रवेश गर्न पर्खिरहेका छन्, उनिहरु मध्ये लगभग १५०,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो सिमाना खुला गरेपछि कसरी प्रवेश पाईन्छ भनेर कुरिरहेका छन् तर त्यसअघिनै सरकारलाई प्रवेश व्यवस्थापनका चुनौतीहरू देखा परिसकेको छ ।
हाल स्वीकृत प्रवेशका साथ सर्टिफिकेट अफ एलिजिबिलिटी (सिओई) पाएकाहरूलाई जापानको नारिता र हानेदा एयरपोर्टहरू र पश्चिम जापानको कान्साई अन्तर्राष्ट्रिय एयरपोर्टहरू मार्फत प्रवेश गर्न दिईनेछ । विदेशबाट दैनिक प्रवेश यात्रुहरु प्रतिदिन ५,००० मा सिमित गरिनेछ ।
जापानी विद्यालय र सरोकारवालाहरुले सबै सिओई पाएकाहरूको जापान प्रवेशको ग्यारेन्टी गर्न सरकारसँग भनिरहेका छन् । यसका साथै नारिता र हानेदा बाहेक थप एयरपोर्टहरू मार्फत देश प्रवेश गर्न खुल्ला गर्न सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरस उपायहरूको सरकारी आवश्यकतालाई स्वीकार गर्दै दिईने प्रवेशको वर्तमान अवस्थाले विद्यार्थीहरूको क्रमिक प्रवेशलाई मात्र अनुमति दिन्छ । यदि सरकारले तोकेको संख्याको सिमा अनुसार नयाँ भिषा प्रापकहरु प्रवेश गर्ने हो भने जापान प्रवेशको लागि उनिहरुलाई न्यूनतम ३ महिना लाग्नेछ । किनभने जापान प्रवेशको दैनिक ५ हजार संख्या हाल प्रवेश पाइरहेकाहरुको संख्या पनि पर्दछ ।
जापानी विद्यालयहरु प्रवेश खुलाउँदा समेत सरकारी कदममा त्यति उत्साहित देखिएका छैनन् । सरकारले विद्यार्थी प्रवेशमा विशेष प्रक्रिया अपनाउन हतार नगरेमा जापानको गुम्दै गएको विदेशी विद्यार्थी अध्ययनको प्रतिष्ठा र विश्वसनीयता पुनर्स्थापित गर्ने आशा नरहेको जापानी भाषा विद्यालय र विश्वविद्यालय संचालक तथा सरोकारवालाहरुको निचोड छ ।
प्रतिक्रिया लेख्नुहोस्:-