काठमाडौं : कोरोना भाइरस संक्रमण कम भएपछि विभिन्न श्रम गन्तव्य मुलुकहरूले अवैधानिक भई बसेका आप्रवासी कामदारलाई स्वेदश फर्काउने प्रक्रियामा जोड दिएका छन् । अन्तर्राष्ट्रिय उडान सहज भई हवाई जहाजको टिकट पनि केही सस्तो भएपछि रोजगार गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा बसेकाहरुलाई वैधानिक बनाउनेदेखि जरिवाना कम गराएर स्वदेश फर्काउन थालेका छन् ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारले विभिन्न कारणले अवैध हैसियतमा बसेका नेपालीसहित विदेशी कामदारलाई रोजगारदाता कम्पनी खोजेर वैधानिक भई काम गर्न पाउने निर्णयको कार्यान्वयन शुरू गरेको बताएको छ । रोजगारीका लागि कतार गएपछि कम्पनीबाट परिचयपत्र नपाएको वा नवीकरण नभएका कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीले कम्पनी खोजेर काम गर्न पाउने छन् ।
कातरास्थित नेपाली दूतावासका अनुसार रोजगारदाता कम्पनीबाट ‘जब अफर’को पत्र पाएकाले आवश्यक कागजातसहित कतारको आन्तरिक मन्त्रालयले तोकेको केन्द्रहरुमा गई निवेदन दिई जरिवाना छुट गराएर वैधानिक हुन पाइने बताएको छ ।
कतारले आगामी डिसेम्बर ३१ सम्म वैधानिक बन्न समय दिएको भन्दै नेपाली दूतावासले अवसरको सदुपयोग गरी वैधानिक हुन अनुरोध गरेको छ । ३ लाख १२ हजार बढी नेपाली वैधानिकरुपमा कार्यरत कतारमा केही कामदार अवैधानिक अवस्थामा रहेको बताइएको छ ।
उता ओमानमा गैरकानूनीरूपमा काम गरिरहेका विदेशीलाई त्यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर आगामी ३१ डिसेम्बरसम्ममा ओमान छाड्न पाउने बताएको छ । उक्त मितिसम्म स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी जरिवाना छुट गरिएको छ ।
ओमान सरकारले दिएको छुटको व्यवस्था अनुसार हालसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको भन्दै नेपाली दूतावासले विभिन्न कारणले रोजगारदाताको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।
यता मलेसियाले पनि केही फरक मापदण्डअनुरूप अवैधानिक अवस्थाका विदेशी कामदारलाई स्वदेश फर्कन पाउने व्यवस्था गरेको छ । मलेसिया अध्यागमनले आगामी डिसेम्बर ३१ सम्म ५ सय मलेसियन रिंगेट जरिवाना तिराएर स्वेश फर्किन पाउने व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गरिरहेको बताएको छ । डिसेम्बर ३१ सम्म ५ सय रिंगेट तिरेर स्वदेश नफर्किने विदेशी कामदारका हकमा भने अध्यागमनले सन् २०२२ को जनवरी १ देखि ५ सय रिंगेट तिरेर फर्किन पाउने हालको प्रक्रिया बन्द गरेर करिब नेपाली एक लाख रुपैयाँ हुने ३ हजार १ सय रिंगेट जरिवाना तिराएर स्वदेश फर्काउने नीति कार्यान्वयन गरिने बताएको छ ।
मलेसियामा भिसा अवधि सकिएपछि ३० दिनसम्म अवैधानिक बस्नेलाई एक महिनाको नौ सय, ६ महिनादेखि ३ वर्षसम्म अवैधानिक बस्नेलाई दुई हजार र ३ वर्ष भन्दा बढी समय बस्नेलाई तीन हजार रिंगेट जरिवाना तिराउने गरिएको छ । यसका अतिरिक्त स्पेसल पासका लागि थप एक सय जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
मलेसियाका गृहमन्त्रीले नयाँ वर्षको शुरूवातमा अवैधानिकरूपमा रहेका आप्रवासीविरूद्व ठूलो मात्रामा धरपकड अभियान चलाउने सार्वजनिक गरिसकेका छन् । मलेसियामा ठुलै संख्यामा नेपाली गैरकानूनी हैसियतले बसेको अनुमान छ ।
प्रतिक्रिया लेख्नुहोस्:-