काठमाण्डौ – तपाईँ श्रम कार्यालय काठमाण्डौबाट पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने टोकन लिने समयबारे थाहा पाउनुहोस् । अहिले श्रम कार्यालय काठमाण्डौबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति प्रदान भइरहेको छ ।
सार्वजनिक बिदाको दिन बाहेक आउँदो हप्ताका लागि अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन हरेक शुक्रबार दिनको दुई बजे र कार्यालयमा उपस्थित हुनेतर्फ कार्यालय खुल्ने हरेक दिन बिहान ९ बजे काठमाण्डौ ब्रान्चको टोकन कम्प्युटर प्रणालीमार्फत सार्वजनिक रूपमा खुला हुने वैदेशिक रोजगार कार्यालय काठमाण्डौले जनाएको छ ।
भौतिक रूपमा उपस्थित भएर श्रम नवीकरण गर्नेले समयमा नै टोकन लिएर आफ्नो पालो सुरक्षित गर्नपर्छ । यस्तै अनलाइनमार्फत श्रम नवीकरणका लागि टोकन लिएकाहरूले टोकन लिएको मितिले ३ देखि ४ दिनसम्म लाग्न सक्ने भएकाले कुर्नपर्छ । भौतिक रूपमा उपस्थित भएर सेवा लिने गरी टोकन लिएकाले टोकनमा तोकिएको मितिमा नै उपस्थित हुन पर्नेछ ।
कार्यालयमा उपस्थित हुन नसक्नेले जथाभाबी टोकन लिएर नओगटिदिन पनि विभागले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनपर्छ । त्यसैले टिकट काट्नुअघि आफ्नो श्रम स्वीकृतिको म्याद निश्चित गर्नुपर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-