काठमाडौं– पछिल्लो समय नेपालीको श्रम गन्तव्य मुलुक मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर घट्दै गएको छ । अगस्टपछि मलेसियामा लगातार संक्रमितको संख्या घट्दै गएको तथ्यांकले देखाएको हो ।
२६ अगस्टसम्म दैनिक २४ हजारभन्दा बढी संक्रमित रहेको मलेसियामा अहिले यो संख्या ५ हजारभन्दा कम देखिएको छ । २६ अगस्टमा २४ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको मलेसियामा ८ नोभेम्बरमा आउँदा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ४३ मा झरेको कोभिडको तथ्यांक जारी गर्ने वल्ड्रोमिटरले देखाएको छ । त्यस्तै मलेसियामा ११ सेप्टेम्बरमा ५ सय ९२ जनाको मृत्यु भएको थियो । यो संख्या मलेसियामा अहिलेसम्म मृत्यु हुने सबैभन्दा धेरै संख्या हो । अहिले दैनिक रूपमा १ सय भन्दा कम व्यक्तिको मृत्यु भएको तथ्यांकले देखाएको छ । ८ नोभेम्बर सोमबार त्यहाँ ५८ जनाको मृत्यु भएको देखिएको छ ।
हालसम्म मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३ सय ४९ जना पुगेको छ । त्यहाँ २५ लाख १० हजार ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ लाख १९ हजार ७ सय ४३ जनाले कोभिड जितेका छन् । अहिले सक्रिय संक्रमित संख्या ६१ हजार ७ सय ६० जना रहेको तथ्यांकले देखाएको छ । मलेसियामा अहिले रोजगारीका लागि पुराना व्यक्तिहरू जाने पाउने भए पनि नयाँ श्रमिक जाने विषयमा कुनै निर्णय नभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
अहिले नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये कतारमा कोरोना संक्रमण र मृत्युदर सबैभन्दा कम रहेको देखाएको छ । कतारमा अहिलेसम्म ६ सय ११ जनाको मृत्यु भएको छ भने संक्रण पुष्टि हुनेको संख्या पनि त्यहाँ २ लाख ४० हजार २ सय ४७ रहेको छ । त्यसमध्ये २ लाख ३८ हजार १ सय ८३ जना निको भएका छन् भने अहिले संक्रिय संक्रमितिको संख्या १ हजार ४ सय ५३ जना रहेको तथ्यांकमा देखिएको छ । पछिल्लो समय रोजगारीका लागि धेरै नेपाली कतार जाने गरेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै नेपालबाट १३ हजार ६ सय २ जना व्यक्ति रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा पनि कोभिडको संक्रमण दर कम हुँदै गएको देखिएको छ । साउदीमा अहिले दैनिक १ सयभन्दा कम व्यक्तिमा दैनिक संक्रमण पुष्टि हुने गरेको देखिन्छ । साउदीमा पछिल्लो हप्तामा सबैभन्दा बढी ३ नोभेम्बरमा ४९ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । साउदीमा १७ जुलाई २०२० का दिन ४ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि हुनु अहिलेसम्मकै सबैभन्दा धेरै हो । साउदीमा जुलाई ५ सन् २०२० मा एकै दिन ५८ जनाको मृत्यु भएको थियो । यो संख्या अहिलेसम्म एकै दिन मृत्यु हुने सबैभन्दा धेरै हो । यो संख्या ८ नोभेम्बरका दिन १ मा झरेको छ ।
साउदीमा अहिले संक्रिय संक्रमितिको संख्या २ हजार २ सय ३५ जना रहेको छ । त्यहाँ कोरोना संक्रमण हुनेको संख्या ५ लाख ४८ हजार ९ यस ७३ रहेको छ भने निको हुनेको संख्या ५ लाख ३७ हजार ९ सय ३३ रहेको तथ्यांकमा देखिएको छ । कोभिडका कारण साउदीमा ८ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । कोभिडपछि नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी श्रमिक साउदी गएको तथ्यांकले देखाएको छ । असोज महिनामा नेपालबाट १५ हजार ५ सय २६ जना रोजगारीका लागि गएको विभागको तथ्यांकले देखाएको छ । यी बाहेक युएई, बहराइन, कुवेतलगायत मुलुकमा पनि पछिल्लो समय कोभिडको संक्रमण घट्दै गएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-