कोरोना भाइरसको पूर्णमात्राको खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ। २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकाले सोमबारबाट सो निर्णय लागू गरेको हो।
पूर्वराष्ट्रपति ड्रोनाल्ड ट्रम्पले कोभिड-१९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली संघका देशसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएनन्। यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो।
नयाँ नियमसँगै विमानसेवाले आगन्तुकको आउने-जाने क्रम बढ्ने अपेक्षा गरेका छन्। आगन्तुकको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीले बताएका छन्। युनाइटेड एयरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ। डेल्टा एयरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।
अब यात्रुहरूले उड्नुअगावै पूर्णमात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ। अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका ८ मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ।
विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई पनि आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिनको संख्या ८ पुगेको छ। नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य रहेको छ । भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी रहेको छ ।
अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई मान्यता दिइएकोमा त्यसमा कोभ्याक्सिन थपिएको हो।
अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएकाले चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउनेछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई भने अमेरिका प्रवेश दिइनेछैन।
कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरूतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-