काठमाडौं : नयाँ जनगणनासँगै वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या यकिन हुने देखिएको छ । नेपालमा तीन दशकअघि संस्थागतरूपमा वैदेशिक रोजगारीमा जाने क्रमको शुरूवात भएपनि वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था हालसम्म यकिन हुन सकिरहेको छैन । सरकारी निकायहरूले अनुमानका भरमा संख्या बताउने र त्यसैका आधारमा योजना बनाउँदै आएका छन् ।
कात्तिक २५ गतेदेखि शुरु भएको यस पटकको राष्ट्रिय जनगणनामा सोधिने ८० वटा प्रश्नहरूमध्ये केही प्रश्न वैदेशिक रोजगारमा गएका कामदारसँग पनि सम्बन्धित रहेका छन् । सोधिने प्रश्नमध्ये प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’ भनेर सोधिएको छ । प्रश्नको सकारात्मक उत्तर अर्थात् ‘छन्’ भन्ने जवाफ दिनेले विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नपर्ने व्यवस्था गरिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले यी विवरणहरू सबैले नछुटाई भर्न सकियो भने अन्दाजमा सधैं जस्तो ८० लाखभन्दा बढी नेपालीहरु विदेशमा रहेको भनिरहन नपर्ने भन्दै कुन देशमा कति के गरेर बसेका छन् भन्ने तथ्यांक प्राप्त हुने बताएको छ ।
जनगणनामा सहभागी हुनको लागि हार्दिक अपिल गर्दै संघले जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेट्ने सरकारी निर्णयप्रति आभार व्यक्त गरेकोे छ । आगामी दश वर्षसम्म नयाँ तथ्यांक प्रयोग हुने भन्दै संघले सकेसम्म सहभागी हुन र सही तथ्यांक दिन सबैलाई आह्वान समेत गरेको छ ।
तथ्यांक ऐन २०१५ ले गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानूनी व्यवस्था गरेको हुँदा निर्धक्करूपमा गणकहरूलाई विवरण दिन पनि संघले विदेशमा रहेका परिवारलाई आग्रह गरेको छ । राष्ट्रिय जनगणना मंसिर ९ गते सम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-