काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूलाई खोप लगाएको प्रममाण पत्र लिएपछि मात्रै टिकट किन्न आग्रह गरिएको छ । वैदेशिक रोजगार गन्तव्य मुलुकहरूले विद्युतीय खोप प्रमाण पत्र अनिवार्य गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
अहिले कोरोनाविरुद्धको विद्युतिय खोप प्रमाणपत्र लिनका लागि अनलाइनबाट फारम भरेर लिन सकिने बताइएको छ । पहिले नै टिकट काट्दा खोप प्रमाण पत्र आउनका लागि ढिलाइ भएको खण्डमा समस्या हुन सक्ने भन्दै मन्त्रालयले पहिले खोप प्रमाण पत्र लिएर मात्रै टिकट काट्न आग्रह गरेको हो । मन्त्रालयले खोप प्रमाण पत्र लिनका लागि विभिन्न चार वटा कागजात आवश्यक पर्ने जनाएको छ । त्यसका लागि परिचयपत्र, पासपार्ट साइजको फोटो, कबुलियतनामा र खोप लगाएको कार्ड अनलाइनबाट वेबसाइटमा अपलोर्ड गर्नु पर्ने जनाइएको छ । आवेदन स्वीकृत वा अस्वीकृत भएको बारेमा पनि अनलाइनबाटै जानकारी लिन सकिने बताइएको छ । यस्तो जानकारी २४ देखि ४८ घन्टाभित्र जानकारी लिन सकिने बताइएको छ । यसका लागि आवेदन नम्बर र जन्म मिति राखेर विवरण हर्न सकिने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय रोजगार गन्तव्य मुलुक तथा अन्य मुलुकले पनि विदेश यात्रा गर्दा कोरोनाविरुद्धको खोप लगाएको डिजिटल प्रमाणपत्र पेश गर्नु पर्ने नियम लागू गरेका छन् । विद्युतीय माध्यमबाट प्राप्त खोप प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक नपर्ने पनि जानकारी गराइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-