सुजुकी मोटरसाइकल इन्डियाले भारतीय बजारको लागि नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्दैछ। कम्पनीले भोलि (मंसिर २) गते नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो।
सुजुकीले नयाँ स्कुटरको नामबारे भने केही खुलाएको छैन। तर यसमा बजाज चेतक र ओलाको एस१ मा प्रयोग भएको ब्याट्री–पावर प्रयोग हुने बताइएको छ।
सार्वजनिक हुने नयाँ विद्युतीय स्कुटरको नाम नखुलाइए पनि कम्पनीले यसको केही विशेषताहरू सार्वजनिक गरेको छ। सार्वजनिक जानकारी अनुसार स्कुटरको स्टाइलिङ निकै स्पोर्टी हुनेछ।
यसको हेडल्याम्प पनि अरूभन्दा भिन्न हुनेछ। जुन गाडा रंगमा हुनेछ। यसमा पुरै एलइडी लाइट जडित छ। साथै यसको बाहिरी आवरण मोटो स्कुटरबाट प्रभावित छ।
त्यस्तै स्कुटरमा पुरै डिजिटल डिस्प्ले छ। यसमा ब्लुटुथमार्फत आफ्नो स्मार्टफोन कनेक्ट गर्न सकिने अनुमान लगाइएको छ। एक पटकको पुरा चार्जमा यो स्कुटरले १०० देखि १५० किलोमिटरसम्मको माइलेज दिने बताइएको छ।
सुजुकीको नयाँ विद्युतीय स्कुटरले ओलाको एस१ र टिभिएसको आइक्युब स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। सुजुकीको यो नयाँ विद्युतीय स्कुटरको मूल्य भारु १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म हुने अनुमान लगाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-