कोभिडका कारण लामो समयदेखि सिमा बन्द हुँदा भिसा अवधि सकिएर अष्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोरेरी ग्राजुयट) भिसावाहकलाई सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ। अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहक (टीआर)को अधिकार कतौटी भएको महशुस गर्दै सरकारले यो कदम चालेको हो।
४८५ अर्थात टेम्पोरेरी ग्राजुयट भिसा भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने भिसा हो। जसबाट उनीहरूलाई पढाइपछि अर्थोपार्जन र विषयगत दक्षतामा काम गर्ने अवसर पाउँछन्।
२१ महिना अन्तर्राष्ट्रिय सिमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीले आफूले पाएको कामको अधिकार गुमाउने भएकोले सरकारले उनीहरूका लागि मौका दिएको हो। हाल अस्ट्रेलियामा अध्यनरत करिब तीस हजार अन्तर्राष्ट्रिय विद्यार्थीको टीआर भिसाको समयावधि सकिन लागेको छ।
स्नातक तहको पढाई सकिएपछि प्राप्त हुने यो अवसर गुमाएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी देश बाहिर रहेकोले अस्ट्रेलिया आउन नपाएका वा फसेकाले यो अवसरका लागि पुनः आवेदन दिन पाउने भएका हुन्।
संघीय सरकारले बिहीबार गरेको निर्णय अनुरूप वर्तमान भिसावाहक वा सन् २०२० को फेब्रुअरी १ तारिख वा त्यसपछि भिसा समाप्त भएका मानिसलाई भिसा पुनः प्राप्त गर्न आवेदन दिन अनुरोध गरिएको छ। उनीहरूले उक्त भिसाको अवधि बराबर समयका लागि भिसाको आवेदन हाल्न पाउने अध्यागमन मन्त्री एलेक्स हकले बताए।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि टेम्पोररी ग्राजुएट भिसा सम्बन्धी केही प्रमुख परिवर्तनमा मास्टर्स कोर्स वर्कको टेम्पररी ग्राजुयट भिसा अन्तर्गत अस्ट्रेलियामा बस्न र काम गर्न पाउने समयलाई बढाएर दुईबाट तीन वर्ष पुर्याइने भएको छ।
यो नियम सन् २०२१ डिसेम्बर १ तारिखदेखि लागू हुनेछ। यस्तै पोष्ट ग्राजुएटको टीआर भिसामा काम गर्न पाउने समय १८ महिनाको सट्टा २४ महिनासम्म बढाइएको छ। यसबाहेक नयाँ नीतिमा अस्ट्रेलिया बाहिर बसेर गरेको पढाइको समयलाई पनि गणना गर्न विद्यमान उपायको प्रयोग गरिने बताइएको छ।
यसअघि सरकारले पूर्ण खोप लगाएका दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी र मानवीय भिसा वाहकहरू डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया आउन पाउने निर्णय गरिसकेको छ।
पछिल्लो डेढ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशमा रोक लगाएपछि कामदारको अभाव भोग्दै आएका विद्यार्थीले मनग्गे काम पाएका छन्। यसैबीच सरकारले सेन्ट्रललीङ्कमार्फत काम गुमाएका र समस्यामा परेका विद्यार्थीलाई पनि आवश्यक राहत प्रदान गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-