काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया जाने प्रक्रियामा रहेका थप ८२ जना नेपाली कोरिया गएका छन् । ३ वर्ष १० महिना कोरियामा श्रम गरेर फर्किएका थप ८२ जना प्रतिबद्ध श्रमिक बुधबार कोरिया गरेका हुन् ।
कोरोनाका कारण लामो समय कोरियाको रोजगारीमा जान नपाएका उनीहरू सिधै कोरियाका लागि उडेको इपिएस कोरिया शाखाका निर्देशक सुरेश रावतले बताएका छन् । बुधबार ९४ जना कोरिया जाने तयारीमा रहेको भए पनि १५ जनाको भिसा प्रक्रियामा ढिलाइ भएको र एक जनाको कोरोना पोजेटिभ देखिएपछि ८२ जना मात्रै कोरिया गएको उनले बताए । पहिलो चरण १० कात्तिकमा ४८ जना नेपाली कोरिया गएका थिए । दुई चरणमा गरेर १३० जना कोरिया गएको बताइएको छ ।
अब अर्को चरणमा ३ सय जना डिसेम्बरमा र थप ५ सय जना जनवरीमा कोरिया लैजाने तालिका रहेको इपिएस कोरिया शाखाले जनाएको छ । पछिल्लोपटक लैजाने ५ सय जनामा नयाँ श्रमिक जाने बताइएको छ । अन्य बाँकी श्रमिकलाई पनि नियमित उडानमार्फत लैजाने भन्ने जानकारी आएको जनाइएको छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार बढी श्रमिक पर्खाइमा छन् । इपिएस कोरिया शाखाका निर्देशक राउतले नियमित भाषा परीक्षा उत्तीर्ण गरेर ‘लेबर कन्ट्र्याक्ट’ आइसकेका करिब ५ हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रूपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि रोकिएको बताएका छन् । कोरियाले श्रमिक लैजान सुरु गर्नु सकारात्मक भएको उनले बताए । उनका अनुसार कोरियाले नेपाली श्रमिक लैजानका लागि विभिन्न सर्तहरू राखेको र ती सर्तहरू पूरा गरेपछि श्रमिक लैजाने क्रम सुरु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-