काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका युवा, स्वरोजगार, असङ्गठित क्षेत्रमा कार्यरत, करार, ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा सनिवार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
नयाँ युगको सुरुआतका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कार्यक्रम चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आएसँगै २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यान्वयनमा आएको छोटो समयमै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले सामाजिक संरक्षण प्राप्त गर्न थालेका छन् । कोषले योगनकर्ताका लागि विभिन्न चार योजना सञ्चालनमा ल्याएको छ ।
हालसम्म १५ हजार ८२४ रोजगारदाता एवं दुई लाख ९५ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा अहिलेसम्म रु १० अर्ब २९ करोड योगदान रकम संकलन भएको छ । कोषमा आवद्ध योगदानकर्तामध्ये हालसम्म छ हजार ४५० योगादनकर्तालाई रु सात करोड १६ लाख ८५ हजार औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको रु ६० लाख ५८ हजार उपचार खर्च भुक्तानी गरिएको छ । कोषमा आवद्ध भई असामयिक निधन भएका १२३ योगदानकर्ताको आश्रित पतिपत्नी वा बुबाआमालाई रु एक करोड १३ लाख भुक्तानी भएको छ ।
कोषले मृतक योगदानकर्ताका आश्रित परिवारलाई मासिक रु २० लाख ६५ हजार पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।
योगदान रकम सङ्कलन सुरुआती दिनदेखि नै प्रविधिको प्रयोग गरी योगदान संकलनदेखि अवकाश तथा पेन्सन भुक्तानीलाई अनलाइन बनाइएको कोषले जनाएको छ । संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको भन्दै मन्त्री श्रेष्ठले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाइने बताए ।
‘सामाजिक सुरक्षा श्रमिकका लागि महत्वपूर्ण छ, कोषमा सूचीकृत रोजगारदाता र योगदानकर्ताको सङ्ख्या सन्तोषजनक छैन,’ उनले भने, ‘अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् ।’
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रुपमा सामाजिक सुरक्षा योजना शुरु भएको उल्लेख गर्दै सामाजिक सुरक्षा कार्यविधिलाई समयसापेक्ष सुधार गर्नुपर्ने बताए ।
सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने सबैको साझा लक्ष्य भएको जनाउँदै उनले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयनमा केही व्यावहारिक कठिनाइहरु देखिए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडाले सरकारको उदासिनता, रोजगारदताको अनिच्छाका कारण सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको बताए । ‘सामाजिक सुरक्षालाई असफल पार्न श्रमिकमा भ्रम सिर्जना गर्न खोजिएको छ,’ उनले भने, ‘योजनाका सम्बन्धमा देखिएका अस्पष्टतालाई कोषले प्रष्ट पार्नुपर्छ ।’
कोषका कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा योजना कार्यविधिको दोस्रो संशोधन गरी योगदानकर्तामैत्री बनाउँदै लगिएको जानकारी दिए । उनले आगामी दिनमा समेत सामाजिक सुरक्षा प्रणालीको मूल मर्म ख्याल गर्दै समयसापेक्ष कार्यविधिमा परिमार्जन गर्दै थप योगदानकर्तामैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । रासस
प्रतिक्रिया लेख्नुहोस्:-