एजेन्सी (दोहा) := फिफा विश्वकप २०२२ का लागि कतारमा आठ रंगशाला निर्माण भएका छन् । मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन ठीक एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगितास्थलहरूमा निर्माण कार्य पूरा गरेको हो ।
६० हजार दर्शक क्षमता भएको अल बायत रंगशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल स्टेडियममा पुगेर सकिनेछ । १८ डिसेम्बर २०२२ अर्थात् कतारको राष्ट्रिय दिवसमा फाइनल खेल हुनेछ ।
कतार २०२२ डट क्युले २१ नोभेम्बर २०२२ मा अल बायत रंगशालाबाट सुरु हुने विश्वकपमा आठ स्टेडियमहरूलाई नजिकबाट हेर्न सकिने जनाएको छ ।
सबै रंगशालाले कतारको प्राचीन सभ्यता झल्काएको बताइन्छ । सबै रंगशालाले कतारको इतिहास र संस्कृतिको प्रतिनिधित्व गर्नुका साथै विश्वसामु कतारको महत्वाकांक्षी लक्ष्यसमेत त्यसमा प्रतिबिम्बित भएका छन् ।
कतारमा यी रंगशालाहरूको डिजाइन र बनावट एकदमै आकर्षक र मनमोहक रहेका छन् । विश्वकपपछि ती रंगशालाका पार्टपुर्जाहरूलाई झिकेर अरू विकसित देशहरूमा पठाइने योजना छ । रंगशालाका विशेषतामा प्राचीन धाउ (डुंगा) आकार, समुन्द्री शंखको आकार, विश्वका सबै देशहरूको मित्रतालाई जनाउनको रंगिचंगी पर्दा, बाहिरी भागमा स्क्रिन राखिएको जस्ता अनेकन रहेका छन् ।
अब यतिबेला कतार विश्वकप २०२२ को एक वर्षको काउन्टडाउन सुरु भएको छ । २०२२ कतार फुटबल विश्वकप आउन ठीक एक वर्ष बाँकी छँदा आयोजक कतारले दोहाको कर्निच फिसिङमा काउन्टडाउन घडी सार्वजनिक गरेको हो । काउन्टडाउन घडीका कर्भहरू फिफा विश्वकप कतार २०२२ को प्रतीकको अटुट लुप र घडीको घाँसको पुरानो टाइम किपिङ उपकरणबाट प्रेरित छ, दुवैले अन्तरसम्बन्धित प्रकृतिलाई प्रतिबिम्बित गर्दछ ।
घडीको संरचना कुनै पनि कोणबाट हेर्न र यसको पछाडि शहरको क्षितिजको दृश्य प्रतिबिम्बित गर्ने खालको निर्माण गरिएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफूले केही दशकदेखि खेलकुद आयोजना हेर्दै आए पनि कतारजस्तो कतै नदेखेको प्रतिक्रिया दिनुभयो ।
इन्फान्टिनोले विश्वकपका लागि सबथोक तयार रहेको तथा खेलमैदान राम्रो हुने बताउनुभयो । उहाँले समर्थकहरूले राम्रो अनुभव बटुल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
विश्वकपका आयोजकको हैसियतमा कतारले स्थान बनाइसकेको छ भने युरोपेली क्षेत्रबाट १० र दक्षिण अमेरिकाबाट दुई गरी १३ देश विश्वकपका लागि छनोट भइसकेका छन् । विश्वभरबाट छनोट भएका ३२ देशले सहभागिता जनाउने सो प्रतियोगितामा दर्शकलाई कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य गर्ने तयारी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-