काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सम्झौताअनुसार सेवासुविधा नदिने विदेशी कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग वैदेशिक रोजगारी र नेपाली समाजमा पुनःएकीकरणबारे सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखेर त्यस्ता कम्पनीहरुको श्रम स्वीकृति रोक्ने बताएका हुन् ।
छलफलमा सहभागी वैदेशिक रोजगारीबाट फर्किएका केही कामदारले कोरोना महामारीका कारण रोजगारी गुमाएर बाध्यतावश फर्कंदा पाउनुपर्ने तलब, सुविधासमेत नपाएको गुनासो गर्दै पाउनुपर्ने तलबका लागि पहल गरिदिन माग गरेका थिए ।
सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा संकलन गर्नुपरेको गुनासो गर्दै उनीहरुले आवश्यक सीप र दक्षताको अभावमा अन्य देशका कामदार सरह तलब तथा सुविधा नपाएको गुनासोसमेत गरे ।
नेपालबाट श्रम स्वीकृति नपाई बाध्यतावश गैरकानूनी बाटोबाट गएका घरेलु महिला कामदारहरुले अत्यन्तै न्यून तलबमा काम गर्नुपरेको र हिंसाको शिकारसमेत हुनुपरेको उनीहरुले गुनासो गरे ।
छलफलमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई पुनर्मिलन, सामाजिक तथा आर्थिकरूपमा सशक्तिकरण गर्दै अगाडि बढाउने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-