काठमाडौं– कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ४ वटा म्यानपावर कम्पनीले ५ सयभन्दा बढी श्रमिकलाई रोजगारीका लागि विदेश पठाएका छन् । सो महिनामा नेपालबाट ६ सय ५ वटा म्यानपावर कम्पनीले श्रमिक पठाएकामा प्याराडाइज इन्टरनेसनल प्रा.लि, एस.ओ.एस. म्यानपावर सर्भिस प्रा.लि, मोभिरा रिक्रुटमेन्ट परामर्श सेवा प्रा.लि र फजल इन्टरनेसनल प्रा.लि.ले एक महिनामा ५ सयभन्दा बढी श्रमिक विदेश पठाएका हुन् ।
एक महिनामा प्याराडाइजले सबैभन्दा बढी ९ सय २९ जना नेपालीलाई रोजगारीमा पठाएको छ । जसमा ८ सय ४६ जना पुरुष र ८३ जना महिला रहेको वैदेशिक रोजगार विभागले जारी गरेको मासिक विवरणमा देखिएको छ । यो अवधिमा एस.ओ.एस.बाट ६ सय ८४ जना, मोभिराबाट ६ सय ३३ र फजलबाट ५ सय ४२ जना विदेशिएको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९ सय १८ जना रहेको विभागले जारी गरेको विवरणमा उल्लेख छ ।
कात्तिक महिनामा ४ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या १ रहेको छ । ४ सयभन्दा बढी श्रमिक पठाउनेमा अल शाहिद ओभरसिज प्रा.लि रहेको छ । जसले एक महिनामा ४ सय ३० जनालाई रोजगारीमा पठाएको देखिएको छ । त्यस्तै यो अवधिमा ३ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या २ वटा रहेका छन् । जसमा लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि र अक्सफोर्ड इन्टरनेसनल प्रा.लि ले ३ सयभन्दा बढी श्रमिक पठाएका छन् । लिंक इन्टरनेसनलले ३ सय ९५ जना र अक्सफोर्डबाट ३ सय ८७ जना रोजगारीका लागि विदेश गएको देखिएको छ ।
यसैबीच, एक महिनामा २ सयभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या १५ रहेको छ भने १ सयभन्दा बढी श्रमिक पठाउनेको संख्या ४ वटा रहेको देखिएको छ । नेपाल सरकारले पछिल्लो सयम एक आर्थिक वर्षमा १ सय जना श्रमिक पठाउनै पर्ने व्यवस्था लागू गरेको छ । कात्तिक महिनामा मात्रै एक सय जना श्रमिक पठाउने म्यानपावरको संख्या ६७ वटा रहेको देखिएको छ । यस्तै एक महिनामा ५० जनाभन्दा बढी श्रमिक पठाउने म्यानपावरको संख्या ९० वटा रहेको छ । कात्तिक महिनामा १ सय ८५ वटा कम्पनीले १० भन्दा कम मात्रै श्रमिक विदेश पठाएका छन् । यो अवधिमा एक जना मात्रै श्रमिक विदेश पठाउने म्यानपावरको संख्या ३३ रहेको विभागले जारी गरेको तथ्यांकमा देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-