काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल-कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । वैदेशिक रोजगार व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने बताउनुभयो ।
उहाँले भिजिट भिषामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभयो । कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसर गुम्न नदिने उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ती उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रिकरण, कतार भिसा सेन्टर सम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडित हुनेहरुलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरुले ध्यानाकर्षण गराउनुभएको थियो । हाल कतारमा साढे तीन लाख भन्दा धेरै नेपाली कामदार रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-