क्वालालम्पुर- मलेसिया सरकारले सुरक्षा क्षेत्रमा काम गर्दै आईरहेका नेपाली सुरक्षा गार्डहरु प्रति असन्तुष्टि व्यक्त गरेको छ। एक कार्यक्रमका बिच मलेसियाका मानव संशाधन मन्त्री एम सरभानान मुरुगनले सुुुरक्षागार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपालीहरु तालिम प्राप्त समेत नहुने गरेको बताएका हुन्।
“मलेसिया आउने मध्यका सबैजना गोर्खा अथवा रिटायर सैनिक होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय नेपाली त कामको लागी उपयुक्त समेत हुँदैनन्” मन्त्री शरभनानले भने “उनीहरु सामान्य नेपाली श्रमिक हुन् जसले सुरक्षा गार्डको रुपमा गर्नुपर्ने सरल काम समेत गर्न सक्दैनन्।”
मलेसियाको स्थानीय अनलाइन पत्रीका द-स्टारका अनुसार मानव संशाधन मन्त्रीले मलेसियालाई व्यवसायीक सुरक्षा गार्डको आवश्यकता रहेको बताएका छन। नेपालबाट अपेक्षा गरिएको अनुसारका सुरक्षा गार्डहरु प्राप्त नभएको भनेर उनले आलोचना गरेका छन।
मन्त्री शरभनानले बैंक तथा गहना पसलहरुले गार्डको काममा लिने गरेका स्थानीय व्यक्तिहरु अझ अनुपयुक्त हुने गरेको बताए। उनले मलेसियाको सुरक्षा क्षेत्रमा सुधार चाहेको भन्दै सोही अनुरुपका श्रमिक हरु काममा जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् ।
मन्त्री शरभनानले मलेसियामा ४० बर्षमा अवकास पाउने सुरक्षाकर्मीहरुलाई सुरक्षा गार्डको रुपमा प्रयोग गर्न सके यसले सुरक्षा व्यवस्था बलियो हुने भन्दै यस विषयमा रक्षा मन्त्रालयसँग छलफल गर्ने समेत बताएको समाचारमा जनाइएको छ । यसले विदेशी श्रमिकप्रतिको निर्भरता कम हुने र सुरक्षा व्यवस्था पनि बलियो हुने उनको भनाई छ ।
रोजगारदाताहरुलाई पनि विदेशी श्रमिक कटौति गर्दै स्थानीय व्यक्तिलाई नै रोजगारीमा आकर्षित गर्ने खालको तलव सुविधा उपलव्ध गराउन पनि उनले आग्रह गरे । यसले व्यवसायीकता अभिवृद्धि हुने र सुरक्षा मजबुत हुने उनको तर्क थियो ।
मलेसियामा हाल नेपालीलाई मात्र सुरक्षा गार्डको रुपमा लिने गरिएको छ । यसअगाडी पनि मलेसियाले तालिम समेत राम्रो नदिई श्रमिक पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-