काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलियाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
वैदेशिक रोजगारका लागि श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फारम भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगले कात्तिक १७ गते उनीहरूलाई पक्राउ गरेको थियोे ।
अख्तियारले नायब सुब्बा पोखरेलले आर.के. फोटो कपीका संचालक खेम प्रसाद काफ्लेमार्फत आाठ हजार घुस लिएको भन्दै आठ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अन्तर्गत सजाय गर्न मागदाबी लिएको छ ।
त्यस्तै आयोगले आर.के. फोटोकपी संचालकद्वय खेम प्रसाद काफ्ले र राजेश पोखरेललाई मतियार अन्तर्गत १३ हजार दुई सय ९२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेकोे छ । उनीहरूमाथि आर.के. फोटोकपीमा आएका सेवाग्राहीलाई बीमा तथा श्रम स्वीकृतिको अनलाइन फारम भरी श्रम स्वीकृति छिटो छरितो उपलब्ध गराइदिन भित्र राम्रो लिंक छ भन्दै २१ हजार दुई सय ९२ रूपैयाँ लिई उक्त रकम मध्येबाट आठ हजार नायब सुब्बा पोखरेललाई दिएको देखिएकाले आयोगले सोही अनुसार दाबी लिएको प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-