काठमाडौं– नेपालीहरूको प्रमुख गन्तव्य मुलुक मध्येको मलेसियामा पुनः कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो सयम दैनिक ४ हजारभन्दा कममा झरेको मलेसियामा पछिल्लो एक हप्तामा पुनः ५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको हो ।
कोभिड–१९ को विश्वभरिको तथ्यांक सार्वजनिक गर्ने निकाय वल्ड्रो मिटरका अनुसार मलेसियामा शनिबार मात्रै ४ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शुक्रबार ५ हजार ५ सय ५१ र बिहीबार ५ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको देखिएको छ । त्यस्तै बुधबार यो संख्या ५ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार मलेसियामा ३६ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यस्तै यो संख्या बिहीबार ४७ जना र बुधबार ४९ जनाको मृत्यु भएको भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
पछिल्लो समय पुराना श्रमिक लिन थालेको समयमा कोभिड–१९ को नयाँ भाइरस देखिएपछि त्यहाँको रोजगारीमा फेरि अन्योलता उत्पन्न भएको रोरोकारवालाको भनाइ छ । हालसम्म कोरोनाका कारण मलेसियामा ३० हजार ५ सय ७६ जनाको मृत्यु भएको छ । त्यहाँ कोराना संक्रमितको संख्या २६ लाख ५४ हजार ४ सय ७४ पुगेको छ । त्यसमध्ये २५ लाख ६१ हजार २ सय ३२ जना संक्रमण मुक्त भएको देखिएको छ । मलेसियामा अहिले सक्रिय संक्रमितको संख्या ६२ हजार ६ सय ८६ रहेको छ ।
त्यस्तै अर्को गन्तव्य मुलुक साउदी अरबमा पनि पछिल्लो समय कोरोनाको नयाँ भाइरस देखिएपछि आगमनमा कडाइ गरिसकेको छ । त्यहाँ कोभिड–१९ संक्रमितको संख्या पनि केही मात्रामा बढेको देखिएको छ । २८ नोभेम्बरमा २४ जना संक्रमित देखिएको त्यहाँ शुक्रबार ३८ जनामा संक्रमण पुष्टि भएको छ । साउदीमा दैनिक रूपमा मृत्यु हुनेको संख्या भने न्यून नै रहेको छ । दैनिक १–२ जनाको मृत्यु भइरहेको तथ्यांकले देखाएको छ ।
साउदी अरबमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय ४२ पुगेको छ । त्यहाँ हालसम्म ५ लाख ४९ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ११ जना निको भएको देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार २४ जना रहेका छन् ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा कम मृत्य भएको कतारमा भने दैनिक रूपमा संक्रमित हुनेको संख्या पहिलेको जस्तै देखिएको छ । त्यहाँ अहिले दैनिक १ सय ५० को हाराहारीमा संक्रमित थपिँदै गएका छन् । कतारमा हालसम्म ६ सय ११ जनाको मृत्य भएको छ । कतारमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४४ हजार २ सय २३ रहेको छ । त्यसमध्ये २ लाख ४१ हजार ४ सय ५९ जना निको भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-