नेपाल उद्योग परिसंघले ‘मेकइन नेपाल– स्वदेशी’ अभियानको एप र वेबसाइट सार्वजनिक गरेको छ। नेपालमा औद्योगिककरण विस्तार तथा रोजगारी सिर्जना गर्न एप र वेबसाइट सार्वजनिक गरिएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए।
एप र वेबसाइटले धेरैभन्दा धेरै उद्योगीलाई यो अभियानमा जोड्न सघाउ पुर्याउने उनको भनाइ छ। अग्रवालका अनुसार कसरी अभियानमा जोड्न सकिन्छ भन्ने कुराको जानकारी एप र वेबसाइटमा दिइएको छ । साथै, उपभोक्ताले पनि मेक इन नेपाल–स्वदेशी अभियानमा कुन कुन उद्योग जोगिएका छन् त्यसको जानकारी लिन सक्नेछन् ।
मेक इन नेपालले वार्षिक डेढलाख रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ। साथै, यो अभियानले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने परिसंघले विश्वास लिएको छ ।
परिसंघका अनुसार हालसम्म यो अभियानमा ४० वटा उद्योग जोडिएका छन्। सो अभियानमा वार्षिक एक हजार पुर्याउने संघको लक्ष्य छ। नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवर्द्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्नका लागि यो अभियानको सुरुवात गरिएको हो । २०७७ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियानको शुभारम्भ गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-