बैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइएको छ । आर्थिक अभाव हुँदा करिब डेढ महिनादेखि कुवेत अलपत्र परेको झापा पृथ्वीनगर–९ घर भएकी सबिना किस्कुको शव नेपाल पठाइएको हो ।
किस्कुको शवलाई नेपाल पठाउन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ र गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतको सहकार्यमा सुनबहादुर तामाङको संयोजकमा आर्थिक अभियान सुरु गरी शव स्वदेश पठाइएको जनाइएको छ ।
कुवेतबाट शव पठाउन लाग्ने शुल्क ३८५ केडी (करिब १ लाख ५० हजार रूपैयाँ) त्यहाँस्थित नेपाली दूतावासलाई बुझाएपछि शव नेपाल पठाइएको प्रवासी ट्याक्सी व्यवसायी संघले जनाएको छ ।
केही वर्षअघि गैरकानुनी बाटो हुँदै कुवेत प्रवेश गरी गैरकानुनी रूपमै कार्यरत रहेकी किस्कुको गत १९ अक्टोबरमा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेको कारण वैदेशिक रोजगार बोर्डले उनको शव नेपाल पठाउन पैसा नदिएकोले शव अलपत्र अवस्थामा रहेको थियो । नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न एजेन्टहरूले कुवेत, भारत, बंगलादेश, दुबई तथा श्रीलंकालगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् ।
यसरी गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्विकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरू अलपत्र पर्ने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-