काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको भन्दै रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले उनीहरूका समस्या सम्बोधन गरिने जानकारी दिए । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यमान ऐन–कानूनको प्रभावकारी कार्यान्वयनका साथै महिलामा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । रासस












प्रतिक्रिया लेख्नुहोस्:-