काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रम प्रहरी र वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने बताएका छन् । आन्तरिक श्रम प्रशासन सञ्चालन गर्ने श्रम विभाग र वेदैशिक रोजगार प्रशासन सञ्चालन गर्ने वैदेशिक रोजगार विभागका कामहरूलाई प्रभावकारी बनाउन श्रम र वैदेशिक रोजगार प्रहरी बलको आवश्यकता महसुस गरिएको मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले मध्यान्ह दैनिकसँगको कुराकानीमा वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षक (डीएसपी ) सरहको अधिकृतको नेतृत्वमा सुरक्षाबल राख्नुपर्ने आवश्यकता महसुस गरिएको बताए ।
हाल राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीलाई निगरानी र अनुसन्धानको काममा लगाएको छ भने काठमाडौ महानगरपालिकासहित स्थानीय निकायले नगर प्रहरी स्थापना गरेर काम गरिरहेका छन् ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगार प्रहरी स्थापना भएपछि विभागलाई अनुगमन लगायतका काममा सहज हुने ठानेर वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल गरिरहेको समेत बताए । विभागमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । तर अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रको नेपाल प्रहरीको युनिटको सहयोग लिने गरेको छ ।
मन्त्री नियुक्त भएपछि विभिन्न स्थानमा स्थलगत अनुगमन गरेका मन्त्री श्रेष्ठ केही दिनअघि रोजगारीका लागि कोरिया जाने तयारीमा रहेका युवाहरूलाई सिनामंगलस्थित होटेल बाल्टिक इनले क्वारेन्टिनको नाममा एक हप्ता होटलमा बसेको रकम तिर्न दबाब दिएको खबर पाएपछि अनुगमनका लागि आफैं पुगेका थिए । मन्त्री भएको विगत दुई महिनाको अवधिमा उनले मन्त्रालय मातहतका धेरै कार्यालयको छड्के निरीक्षणसमेत गरिसकेका छन् । निरीक्षणमा गएका सबै कार्यालयमा सेवाग्राहीको गुनासो सुनेपछि उनले तत्काल सुधारको आश्वासन दिने गरेका छन् ।
मन्त्री श्रेष्ठले आफ्नो स्थलगत अनुगमनपछि श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलमा धेरै पक्षमा सुधार भएको जानकारी आएको समेत मध्यान्हलाई बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-