लन्डन — झट्ट हेर्दा विकास, विलासिता र बिन्दास मात्र देखिने लन्डनको कथा वास्तविक जीवनमा अलिक फरक छ । चाहे राजनीतिज्ञ हुन्, चाहे सर्वसाधारण, यहाँ काम नगरी बस्ने विरलै भेटिन्छन् ।
त्यसको एउटा उदाहरण हुन्, लन्डन बरो अफ हाउन्स्लोका ५६ औं मेयर नेपाली मूलका विष्णु गुरुङ । नेपालमा स्थानीय प्रतिनिधि पदमा पुगेपछि सकेसम्म लाभ लिने प्रवृत्ति देखिएभन्दा फरक लाग्छ उनको दैनिकी । ६३ वर्षीय मेयर गुरुङ सोमबारदेखि शुक्रबारसम्म बिहान ४ बजे उठेर १ बजेसम्म बस कुदाउन जान्छन्, अनि आफ्नो ड्युटी सकेर मेयर अफिस पुग्छन् ।
सन् २००५ देखि लन्डनमा बस चलाउन थालेका उनी यसअघि दुई पटक काउन्सिलर र एक पटक डेपुटी मेयर भए । मेयर भएपछि पनि उनले काम भने छाडेका छैनन् । लन्डनमा गुरुङले २६७, २८५, ४९०, एच२८, एच२६, आर७० र आर ६८ रुटका बस चलाउँछन् ।
‘मेरो त ब्रेड एन्ड बटरको जोहो बस चलाउने जागिरबाटै हुन्छ,’ मेयर गुरुङले कान्तिपुरसँग भने, ‘मेयर पद सकिएपछि पनि लन्डनमा त बाँच्नुपर्यो । त्यसैले मैले आफ्नो काम कहिल्यै छोडिन् ।’ बेलायतमा सबैले कामको इज्जत र सम्मान गर्ने र भेदभाव नभएकाले पनि आफू बस चालकका रूपमा बढी दत्तचित्त भएको उनको भनाइ छ । ‘अर्को कुरा यसले मलाई जनताको सेवा र भेटघाट गर्ने अवसर दिएको छ । मलाई कामप्रति गर्व छ,’ उनले थपे, ‘कामको दबाब त हुन्छ, तर सबै कुरा इच्छाशक्ति नै रहेछ ।’
‘तिमी यो काम पनि गर्छौ ?’ बस हाँकिरहँदा आफ्नै मतदाताले पनि अचम्म मान्दै सोध्ने गरेका उनको अनुभव छ । बेलायतमा काम गर्दा न कसैले खिसी गर्छन् न विभेद नै । ‘बस चलाउँदैमा मेरो इज्जत घट्दैन । बरु काम नगरी बेनिफिट खानेको के इज्जत ?’ मतदातालाई उनले उल्टै प्रश्न गर्ने गरेको सुनाए ।
आफ्नो काउन्सिलका प्रतिनिधिमध्ये कोही व्यापारी, कोही रेल चालक र कोही इन्जिनियर रहेको पनि उनले सुनाए । मेयर गुरुङले तलबबापत वार्षिक ११ हजार २ सय पाउण्डमात्र पाउँछन् । व्यक्तिगत खर्चका लागि स्पेसल रेट अफ एलाउन्स (१३ हजार पाउन्ड) र काउन्सिलमा हुने कार्यक्रम, मेयर च्यारिटी (सिभिक इभेन्ट) आदिका लागि वार्षिक २५ हजार पाउन्ड थप पाउँछन् ।
‘हामीलाई गाडी सुविधा हुँदैन । अफिस प्रविधिमैत्री भएकाले हातबाटै काम हुन्छ । कोभिड पनि भएकाले ५० प्रतिशत काम त घरैबाट हुन्छ,’ उनले भने, ‘प्रत्यक्ष बैठक र कुनै कागजातमा हस्ताक्षर गर्नु परेमात्र म अफिस जान्छु ।’ बेलायती सेनामा १९ वर्षभन्दा बढी समय बिताएर अवकास लिएका गुरुङले पल्टनमा छँदा मेकानिकल इन्जिनियरका रुपमा काम गरेका थिए ।
सन् १९९५ मा अवकाश लिएपछि उनले हङकङमा करिब एक दशक रोयल इलेक्ट्रिकल एण्ड मेकानिकल इन्जिनियर्स इन्सट्रक्टरको काम गरे । सन् २००४ अन्त्यमा बेलायत फर्केपछि उनले गाडी बनाउने काम छाडेर बस हाँक्न सुरु गरे । उनी बेलायतको प्रमुख प्रतिपक्षी दल लेबरबाट काउन्सिलर र मेयर हुने एकमात्र नेपाली मुलका हुन् । सन् २०१२ मा पार्टीको सदस्य भएका उनले दुई वर्षमै सन् २०१४ मा हानवर्थ पार्कको काउन्सिलरमा निर्वाचित भए । सन् २०१४ देखि २०१५ सम्म डेपुटी मेयर बने । उनले सन् २०१८ मा फेरि सोही वडाबाट काउन्सिलर जिते । २०२१ को मेमा मेयर बनेका उनको कार्यकयल आगामी मेमा सकिदैछ । तर, तेश्रो पटक काउन्सिलरमा उठ्ने चाहना भने उनले छोडेका छैनन् । सन् २००५ मा हान्स्लो गोर्खा नेपलिज कम्युनिटी स्थापना गरेका उनी एक दशकदेखि आर्मड फोर्सेस च्यारिटी संस्था साफाको नर्थ वेष्ट लन्डन डिभिजन सेक्रेटरीसमेत छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-