काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)सँग आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का मिसन प्रमुख लोरेना ल्यान्डोले श्रममन्त्री श्रेष्ठसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । त्यसक्रममा आइओएमले नेपाल सरकारसँग आप्रवासी नेपाली कामदारको क्षेत्रमा गरिरहेको सहकार्यबारे समीक्षा गरिएको थियो ।
मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको सम्बोधनका लागि आइओएम नेपालले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आइओएमबाट सहयोगको आग्रह गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीमा गई नेपाल फर्केका नागरिकहरुले आर्जन गरेका सीप र पुँजीको परिचालनका लागि मन्त्रायलले गरेका प्रयासमा आइओएमले सहयोग गरेको चर्चा गर्दै मन्त्री श्रेष्ठले पाँच वर्षे रणनीतिमा उल्लेख गरिएका विषय कार्यन्वयन गर्न मन्त्रालय र आइओएम नेपालबीच छुट्टै समझदारी हुनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले मन्त्रालय र आइओएम नेपालबीच आगामी पाँच वर्षे संयुक्त रणनीतिपत्रको मस्यौदा गर्न विज्ञ समिति गठनको प्रस्ताव समेत गरेका छन् । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतमरुपमा परिचालन गर्ने राज्यको नीति रहेको बताए ।
साथै मन्त्री श्रेष्ठले नेपाल सरकारको नीति तथा कार्यक्रममा श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई आन्तरिकीकरण गर्दै लगिने बताए । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-