काठमाडौँ ओमानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमानले अर्को देशबाट फर्केका दुई व्यक्तिमा परीक्षण कोभिड–१९ को ओमिक्रोन पुष्टी भएको जनाएको छ । ओमानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यात्राबाट फर्केका नागरिकहरूमा ओमिक्रोन म्युटेन्ट भेरियन्टका पहिलो दुई जनामा पुष्टी भएको घोषणा गरेको हो ।
उनीहरूको अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजान, हात सफा राख्नेजस्ता रोकथामका उपायहरूको पूर्ण पालना गर्न आफ्ना नागरिक तथा आप्रवासी श्रमिकहरू लगायत सबैलाई आग्रह गरेको छ ।
साथै, मन्त्रालयले १८ वर्षभन्दा माथिका सबैलाई प्राथमिक हेरचाह संस्थाहरूमा उपलब्ध भएको कोभिड–१९ खोपको बुस्टर डोज खोप लिन पनि आह्वान गरेको छ । ओमिक्रोन यसअघि खाडी मुलुक साउदी अरेबिया, युएई र कुवेतमा पनि फेला परिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-