काठमाडौं– रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकलाई करार सम्झौता गर्न आउनका लागि वैदेशिक रोजगार विभागले आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूलाई सम्झौता गर्न आउन आह्वान गरेको हो ।
इजरायलको दीर्घकालीन सेवा केन्द्रमा काम गर्न जानका लागि सबै प्रक्रिया पूरा भइ उताबाट रोजगारदाताले हस्ताक्षर गरी पठाएकाले सो सम्झौता पत्रमा नेपाली श्रमिकको हस्ताक्षर गरी पठाउनु पर्ने भएकाले २९ मंसिरदेखि ४ पुससम्म सम्झौता पत्रमा हस्ताक्षर गर्न आउन विभागले भनेको छ । रोजगारदाताले पठाएको उक्त सम्झौता पत्रमा नेपाली श्रमिकको तर्फबाट ५ दिनभित्र हस्ताक्षर गरी पठाउन भनिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
विभागका महानिर्देक दीपक काफ्ले हस्ताक्षर गरेको सूचनामा इजरायल पठाउन आवश्यक पर्ने कागजातसहित उपस्थितिका लागि भनिएको छ । सम्झौता गर्न आउँदा प्रहरी चारित्रिक प्रमाण पत्रको सक्कली प्रमाण पत्र ३ प्रति प्रतिलिपि, कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्रको सक्कली प्रमाण पत्रसहित ३ प्रति प्रतिलिपि साथमा समावेश गरेर आउनु पर्ने बताइएको छ । त्यस्तै सक्कल राहदानी र ३ थान प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्र र तालिम लिएको प्रमाण पत्रको सक्कल प्रति र ३ प्रति प्रतिलिपि, संक्षिप्त विवरणसहितको क्लियर ब्याग र २ प्रति हालसालै खिचेको फोटा साथमा लिएर सम्झौता गर्न आउन भनिएको छ ।
उम्मेदवारहरूले यी विवरणसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उपस्थित हुनुपर्ने पनि सूचनामा भनिएको छ । इजयारलको दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि माग भई आएको १ हजार कोटाका लागि ७ हजारभन्दा बढी व्यक्ति सहभागी भएको विभागले जनाएको छ । अंग्रेजी भाषामा सञ्चालन गरिएको परीक्षाबाट उत्तीर्ण भएकाहरूको शारीरिक परीक्षण, स्वास्थ्य परीक्षणलगायत काम सकेर अब इजरायल जाने अन्तिम खुड्किलोका रूपमा हेरिएको विभागले जनाएको छ ।
इजरायल जाने श्रमिकको सुरुमा एक वर्षको करार सम्झौता हुने बताइएको छ । पुनः सम्झौता गरेर ५ वर्षसम्म इजरायलमा रोजगारीका लागि बस्न पाउने जनाइएको छ । इजरायल जानका लागि १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो । उक्त प्रकाशित गरेकोमध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको नामावली इजरायल पठाइएको र दोस्रो चरणमा बाँकी ६ सय ७५ जनाको नाम पठाइएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-