काठमाडौँ अवैध घरेलु मदिरासहित कुवेतमा २ नेपाली पक्राउ परेका छन् । कुवेत सुलैबिया क्षेत्रको एक घरमा अवैध मदिरा कारखाना सञ्चालन गर्दै आएका २४ वर्षीय र २७ वर्षीय दुई नेपालीलाई घरेलु मदिरासहित पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुवेत प्रहरीले छापामारी उक्त स्थानबाट चोरी हुन सक्ने २६ भेडा, एक थान पेस्तोल, ४ थान क्लिप, १०० थान गोलीसहित ४८ ब्यारेल भरिएको घरेलु मदिरा, ८ थान आयातित मदिराका बोतल र मदिरा बनाउन आवश्यक पर्ने सामानसमेत बरामद गरेको जनाएको छ । मदिरा उत्पादन गर्ने र बोक्सी विद्या गर्न प्रयोग हुने शंकास्पद उपकरण पनि फेला परेको छ । सबै अभियुक्तलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उक्त मदिरा कारखाना सञ्चालनमा कुवेतको औषधि नियन्त्रण विभागमा कार्यरत ५४ वर्षीय सैनिकको हात रहेको प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।
कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्ष कुवेत प्रहरीले ठूलो संख्यामा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । अवैध मदिरा उत्पादनमा कुवेतमा अवैधरूपमा बसिरहेका नेपालीहरू संलग्न रहने गरेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-