श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ का अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली श्रमिकको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सरकारले आप्रवासी श्रमिकको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिएको जानकारी गराए । वैदेशिक रोजगार नीति समयसापेक्ष बनाउन सरोकारवाला र विज्ञबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठले बताए ।
अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील बनाएर परिचालन गर्ने सरकारको नीति रहेको जनाउँदै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-