काठमाडौं:= भिजिट भिसामा वैदेशिक रोजगारमा नजान विज्ञहरूले सचेत गराएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ का अवसरमा वैदेशिक रोजगार पत्रकार समाजद्वारा आयोजित भिजिट भिसा : समस्या र समाधान विषयक छलफलमा उनीहरूले यस्तो सचेत गराएका हुन् । भिजिट भिसामा जानेक्रम बढेसँगै विभिन्न मुलुकमा पुगेर अलपत्र पर्नेक्रम पनि बढेको तथा बेचबिखनमा परिरहेको उनीहरूले बताए ।
प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको भन्दै त्यसरी जाने कामदार समस्या पर्नुका साथै विभिन्न सेवासुविधाबाट वञ्चितसमेत हुने बताउनुभयो । भिजिट भिसा दुरूपयोग गर्ने प्रवृत्ति समयमै नियन्त्रण गर्न नसके विकराल रूप लिन सक्ने उहाँको भनाइ थियो ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले भिजिट भिसामा जानकारहरू नै बढी जाने गरेको बताउनुभयो ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा जान नहुने बताउनुभयो भने वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नै लैजाने गरेको दाबी गर्नुुभयो । भिजिट भिसामा पठाउने म्यानपावर कम्पनीलाई दलाल भन्दै उहाँले आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङमा भारतको बाटोमार्फत् पनि युवा भिजिट भिसामा जाने बताउनुभयो ।
सबै ट्राभल एजेन्सी तथा म्यानपावर व्यवसायीलाई सरकारले कडाइ गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न सकिने उहाँको भनाइ थियो । ट्राभल एजेन्सी र कन्सल्टेन्सीहरूले भिजिट भिसामा युवा ओसारिरहेको भए पनि सबै दोष म्यानपावर व्यवसायीमाथि थोपर्ने गरिएको पनि उहाँले गुनासो गर्नुभयो । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले अप्ठ्यारोमा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको बताउनुभयो ।
भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो । आर्थिक वर्ष २०७७/०७८ मा पिआर दिलाउँछु भनेर पठाइएका १३ जना मानिसले ब्युरोमा उजुरी गरेको पनि उहाँले जानकारी गराउनुभयो । श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या पुरानै भएको भन्दै भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सरोकारवाला जानकार भए पनि कडाइ गर्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-